Lumbini Rise

 


बुटवल - अंग्रेज फौजलाई हराएको उत्सवका रुपमा आईतबार बुटवल जीतगढीमा विजय उत्सव मनाइएको छ । बुटवल उपमहानगरपालिकाले नेपाली सेनासँगको सहकार्यमा अग्रेजलाई हराएको खुशियालीमा जितगढी विजयी उत्सव मनाइएको हो ।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने गरिएको छ । विभिन्न साँस्कृतिक र जातीय झाकी सहित नेपाली गोरखादेखि पैदलयात्रा गरी बुटवल आइपुगेका पदयात्रीहरुलाई जितगढी किल्लामा स्वागत सहित बिशेष समारोह गरिएको छ । 

विजय उत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल थाल्ने प्रतिबद्धता जनाएका छन । उनले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्ने बताए । 

मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गर्ने बताए । ‘इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ’ मुख्यमन्त्री आचार्यले भने ।

गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोलीलाई बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वागत गरेका थिए । नगर प्रमुख पाण्डेयले जर्नेल उजिरसिंहलाई राष्ट्रिय विभूती घोषणा गर्न र जितगढीको विकासका लागि प्रदेश सरकारलाई पहल गर्न आग्रह गरे । उनले ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षणका लागि पहल गरिरहेको बताए । 

गोरखाबाट बुटवलसम्म तेस्रो पटक सेनाको टोली आउने गरेको छ ।  तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आज ऐतिहासिक जितगढी किल्लामा आइपुगेको हो । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी भएका थिए ।


कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद, पूर्व नगरप्रमुख, जिल्ला समन्वय समिति, पूर्व जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
 
वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थिए । त्यही फौजले वि.सं. १८७१ सालदेखि सुरु भएको पटक–पटकको आक्रमण सामना गर्दै अन्ततः वि.सं. १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो ।

अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएका थिए ।

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update