
नेपालको सत्ता राजनीतिमा उथलपुथल आएको छ । केन्द्रमा राजनीतिक समिकरण फेरिदा त्यसको पहिरो प्रदेशमा परिहाल्छ । एक प्रकारले प्रदेश केन्द्रको छाया जस्तो देखिएको छ । संविधानले प्रदेशलाई छुट्टै सरकारको रुपमा अधिकार सम्पन्न बनाउने भनेपनि मूलत अभ्यासमा त्यस्तो देखिएको छैन । केन्द्रको राजनीतिक सत्ता समिकरणको प्रभावबाट मुक्त पार्नुपर्छ भन्ने आवाज उठाउने मध्येकी एक हुन लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी । प्रदेशसलाई बलियो र अधिकारसम्पन्न बनाउनुपर्ने मतमा अडिग छन उनी । सदनमा कहिले सत्तापक्ष त कहिले प्रतिपक्ष जहाँ रहेर भएपनि रचनात्मक रुपमा सबै क्षेत्रका बिषय उठान गर्ने सांसद पनि हुन उनी । जोसँग सिंहदरबार छिर्ने पहुँच छ उसैले प्रदेशको विरोध गरेको उनको टिप्पणी छ । जसलाई प्रदेश चाहिएको छ, उसले थाहै नपाएको र अरुको भुलभुलैयामा लागेको उनी बताउँछिन । गिरी त्यस्तो सांसद हुन् जो लुम्बिनी प्रदेशमा पहिलो पटक आफ्नो रिर्पोट कार्ड सार्वजनिक गरिन । आफूले एक वर्षमा प्रदेश सभामा गरेका काम, संसदमा उठाएका बिषय, सांसदको तलब खर्च, स्वयिक सचिव कस्लाई राखेको र जनताका लाग गरेका कामहरुको फेहरिस्त सहितको रिर्पोट कार्ड सार्वजनिक गरेर जनताप्रति जवाफदेही बन्ने प्रयत्न गिरीले गरिन । प्रदेशसभामा सवारी दुर्घटना रोकथाम र जिउधनको सुरक्षाको माग सहित लुम्बिनी प्रदेशसभामा पहिलो संकल्प प्रस्ताव दर्ता गर्ने सांसद पनि हुन् । प्यूठानबाट नेपाली काँग्रेसबाट समानुपातिक सांसद ३५ बर्षिय निमाले सामाजिक न्याय, कानुन निर्माण, नागरिक सरोकारका बिषयमा निरन्तर संसदमा आवाज उठाउने जनप्रतिनिधि हुन् । त्यतिमात्रै होईन सांसदहरुले सचिवालयमा नातेदार राख्ने गरेकोमा उनले त्यसलाई तोडेकी छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीसँग गरिएको कुराकानीको सम्पादीत अंश ।
प्रदेशसभा सदस्यका रुपमा तपाईको कार्यकाल कस्तो भइरहेको छ ?
म लुम्बिनीका १२ जिल्लाका जनताको मतबाट निर्वाचित प्रदेशसभा सदस्य हुँ । प्रदेश सांसदको जिम्मेवारी कानुन निर्माण गर्ने हो । त्यसैले मेरो प्रदेश सभामा मुख्यगरी नागरिक सरोकारका बिषयमा कानुन निर्माण गर्ने, सरकारलाई जवाफदेही बनाउने काममै केन्द्रीत छ । प्रदेशसभामा संसदमा नीतिगत र योजनाका कामहरु अगाडि बढाउन पहल गरेको छु । विकास निर्माणका कामहरुका बिषयमा सरकारलाई ध्यानआर्कषण गराउने, जस्तै बाटो पुन नहर, कुलो, स्कुलका भवन, स्वास्थ्य चौकी, बाढी पहिरो नियन्त्रण, महिला नेतृत्व तथा सिप विकास तथा उद्यम, शिक्षण सिकाईका क्षेत्रमा बजेट विनयोजन गर्नका लागि पहल गरेको छु ।
म सांसद भएपछि पहिलो पटक रिपोर्ट कार्ड बनाएको छु । प्युठान कारागारमा आफ्नो मेहनत र लगानिमा पुस्तक र पुस्तकालय स्थापना गरेको छु । सडकआश्रित जीवन बिताएका बेसहारा, सामाजिक रुपमा पछाडि पारिएका समुदायहरुको पक्षमा संसदमा आवाज उठाउने काम गरेको छु । समानुपातिक सासदलाई दिने योजना कार्यान्वयन गर्न भूमिका खेल्ने, योजना बैंक निर्माणका लागि सरकारलाई घचघच्याउने, लैंगिक मैत्री शौचालय बनाउन पहल, बाल सुधार गृहमा पुस्ताकालय बनाउन बजेट बिनियोजन गरायन पहल जस्ता कामहरु गरेको छु ।
यसका साथै लुम्बिनी प्रदेशमा महिलाका लागि महिनावारी विदा, महिलालाई ५० प्रतिशत आरक्षण, अपांगता भएका व्यक्तिलाई तीन प्रतिशत आरक्षण, पिछडिएको क्षेत्र सिमान्तकृत समुदायलाई ४ प्रतिशत आरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यकलाई एक प्रतिशत आरक्षण, विश्व विद्यालयबाट गोल्ड मेडलिस्टलाई दुई बर्ष करारमा लिने व्यवस्थाका लागि पहल गरेको छु । एक प्रकारले मेरा लागि प्रदेशसभा उपलब्धीमुलुक र नागरिकहरुको सेवामा समर्पित गरेर बिताएको छु ।
तपाईले प्रदेशसभा सदस्यका रुपमा विभिन्न काम गरेको बताउनुभयो, तर अहिले प्रदेश संरचना नै काम छैन, भन्ने आवाज सुनिएको छ, प्रदेशको औचित्य नभएको हो त ?
वास्तवमा प्रदेश संरचनाका बिषयमा भ्रमहरु फैलाइएको छ । यदि प्रदेशलाई साँच्चिकै अधिकार दिने हो भने यसको महत्वपूर्ण भूमिका छ । प्रदेश सरकार आम नागरिकको पहुँचमा भएको सरकार हो ।
प्रदेशका सांसदहरुले आफ्ना नागरिकका भावना र भूगोललाई बुझेर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सक्छ । मेरो आफ्नै अनुभवमा केन्द्र सरकारको आँखामा नपरेको मुदामा प्रदेशले समाधान गरेको छ । जस्तै हामीले प्रदेश अन्तर्गतका कारागारमा पुस्तकालय बनाउँदैछौं, महिनावारी विदा दिने नीतिगत व्यवस्था गर्यौं । २०४४ सालमा शुरु भएको प्यूठानको लुम्ग्री माडी १२ करोड खर्चिएर अलपत्र थियो । त्यसको अध्ययन गरिएको छ । दशकौंदेखि संघीय सरकारलाई अनुरोध गर्दा बन्न नसकेका पुल प्रदेह सरकारले बनाएको छ ।
प्रदेश सरकारले आयोजना बैंक बनाउँदैछ । सिंहदरबार पुग्न नसकेका भुईँमान्छेहरु प्रदेश सरकार नजिकै आयो भनेर भेट्न ाएका छन् । सरकारको बजेट रातो हुन्छ की सेतो थाहा नभएकाहरुले बजेट पाएका छन् । केन्द्रले नीति बनाउँदा भूगोको बुझाई विनाको बनाउदो रहेछ, जुन कुरा प्रदेशले सच्चाएको छ । बरु केन्द्रीय सरकार सानो आकारको बनाएर प्रदेश सरकारलाई सक्रिय बनाउनुपर्छ भन्ने मेरो धारणा छ ।
बित्तिय समन्याय कायम गर्न प्रदेशको महत्वपूर्ण भूमिका छ । केन्द्रमा बसेर प्रदेशको बारेमा गलत बुझाई र ब्याख्या गर्न भएन । यसलाई अधिकार सम्पन्न बनाउँदा प्रभावकारिता पनि बढ्छ, औचित्य पनि पुष्टि हुन्छ ।
तपाईले रिर्पोट कार्ड सार्वजनिक गर्नुभयो ? मुख्यमन्त्री, मन्त्री भएकाहरुले सार्वजनिक गरेनन, तपाईले किन गर्नुभाको ?
हो, मेरो विचारमा ७ वटै प्रदेश सांसदहरुमा सम्भवत पहिलो पटक मैलै रिर्पोट कार्ड सार्वजनिक गरेको हुँ । वास्तवमा यो मेरो मतदाता र प्रदेशसका नागरिकहरुप्रतिको जवाफदेहीता र जिम्मेवारी हो । सांसदहरु के गरिरहेका छन, कस्ता मुद्धा उठाइरहेका छन् भन्ने कुरामा जनतालाई जानकारी गराउन रिर्पोट कार्ड सार्वजनिक गरेको हुँ ।
म नेपाली काँग्रेसबाट प्यूठान जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिक सांसदका रुपमा निर्वाचित भएको हुँ । मेरो पार्टीको घोषणापत्रमा प्रत्येक सांसदले रिर्पोट कार्ड बनाउनुपर्ने भनेर लेखेको पनि थियो, त्यसको कार्यान्वयन पनि मैलै गरेको हो । जनप्रतिनिधि पारदर्शी, जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यताका कारणले पनि रिर्पोट कार्ड सार्वजनिक गरेको हुँ । यसले सांसदलाई जनताप्रति जवाफदेही हुन महत्वपूर्ण भूमिका खेल्नेछ । मैलै दोस्रो पटक पनि सार्वजनिक गरिसकेको छु ।
तपाई विद्यार्थी राजनीतिबाट आउनुभएको, व्यवस्थापन र राजनीति शास्त्रमा स्नाकोत्तर, कानुनमा स्नातक गर्नुभएको थियो, राजनीतिमा के पाईन्छ भनेर लाग्नुभएको हो ?
म समाज रुपान्तरण, प्रजातन्त्र र नागरिकको स्वतन्त्रताका लागि राजनीतिमा लागेको हो । तपाईले भनेजस्तै म अध्यापन वा कानुनी रुपमा वकालती पेशा गरेर बस्न पनि सक्थेँ । राजनीतिसँगै मैलै वकिल पेशामा पनि थिएँ । तर, वकिलले बनेको कानुनको वकालत मात्र गर्ने हो तसर्थ , नागरिकलाई चाहिएको कानुन निर्माण गर्ने थलोमा पुग्नुपर्छ भनेर राजनीतिमा बढि लागेको हो । अहिले म प्रदेशसभा सदस्य हुँ । मेरो भूमिका प्रदेशको नीति ऐन बनाउने हो । यदि म कानुनी पेशामा रहेको भए, कानुन यसरी बनेको भए हुथ्यो भनेर सुझाव
दिन सक्थेँ । तर प्रदेश सांसदका रुपमा भने मैलै कानुन निर्माणको अभ्यास गरिरहेको छु । जुन वर्ग, समुदाय पछाडि पारिएको छ, त्यसका पक्षमा बोल्ने र आवश्यक नीति बनाउन राजनीति नै मुख्य कुरा हो । यसर्थ मेरो रोजाई राजनीतिसँग नागरिकहरुको हितको स्वार्थ जोडिएको छ ।