Lumbini Rise
मनिकर कार्कीकाे अर्थदृष्टिकाे लाेकार्पण

बुटवल – अर्थशास्त्री लेखक मनिकर कार्कीको पुस्तक अर्थ दृष्टिको विमाेचन  गरिएको छ । शुक्रवार काठमाडौँमा  पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, गभर्नर डा. विश्व पौडेल, राजनीतिज्ञ राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री रामकुमारी झाँक्रीले  काठमाडौँमा लोकार्पण गरेका हुन ।  

पुस्तक लोकार्पण समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले २१औँ शताब्दीमा विश्वसँग तालमेल मिलाउँदै अघि बढ्न सकेमा नेपालले अल्पविकास, गरिबी, बेरोजगारी र परनिर्भरताबाट मुक्ति पाउन सक्ने विश्वास व्यक्त गरे । 

उनले आर्थिक, राजनीतिक र संस्थागत रूपान्तरणमा अपेक्षित सुधार गर्न नसक्दा देश पछाडि परेको प्रस्ट पारे। ‘हामी सबै समृद्धिको खोजीमा छौँ, तर वर्षौँदेखि अल्प विकास र परनिर्भरताको दुश्चक्रमा फसेका छौँ,’ भट्टराईले भने, ‘त्यसबाट बाहिर निस्कन थुप्रै प्रयास गरिए तापनि सफलता पाउन सकेका छैनौँ । यसले गम्भीर बहसको माग गर्दछ।’ 

पूर्व प्रधानमन्त्री भट्टराईका अनुसार एसियाली मुलुकहरूमा विकासको गति तीव्र बनिरहेको सन्दर्भमा नेपालले पनि विश्वसँग तालमेल मिलाउँदै अघि बढ्नु आजको प्रमुख आवश्यकता हो । उनले छिमेकी ठुला मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम गर्दै समृद्धिको बाटो समात्नुपर्नेमा जोड दिए। 

‘यदि हामीले लोकतन्त्र त ल्यायौँ, शिक्षा र चेतनामा पनि विकास भइरहेको छ, तर हामी अझै स्थायी सुधार र प्रगतिको बाटोमा जान नसकिरहेका छौँ,’ उनले भने, ‘अबको बाटो सन्तुलित वृद्धि, समान वितरण, दिगोपन र जनसन्तुष्टिलाई जोड दिने हुनुपर्छ।’ 

उनले राजनीतिक दलहरूलाई आ–आफ्ना प्रतिबद्धता रहे पनि राष्ट्रिय समृद्धिका लागि साझा धारणा बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । साथै, वातावरण सन्तुलन कायम राख्नेतर्फ पनि ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए । ‘नाम जे भए पनि अबको बाटो सन्तुलित र समावेशी विकासको हो,’ डा‍. भट्टराईले भने । 

यस्तै पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकको बजेट संरचना असहज बन्दै गएको बताए । उनले देशमा सामाजिक सुरक्षा र राज्यका अन्य सेवा–सुविधा खर्चहरू अत्यधिक भएको कारण मुलुकको विकासका लागि आवश्यक पुँजी अभाव हुने खतरा रहेको बताए। 

अल्पविकासको अर्थ–राजनीति कार्कीको अर्थदृष्टि इन्डोको इन्कले प्रकाशन गरेको हो । पुस्तकमा नेपालको वर्तमान अर्थतन्त्रको अवस्था, श्रम निर्यात र बस्तु आयातको आर्थिक संरचनाका विषयलाई गहिरोसँग केलाइएको छ ।

पुस्तकले विश्व अर्थ राजनीति भएका सम कालिन विमर्श र त्यसबाट नेपालले अवलम्बन गर्नुपर्ने सम्भावित मार्गबारे चर्चा, इतिहासमा नेपाली अर्थतन्त्रको चरित्र र विभिन्न कालखण्डहरूमा अवलम्बन गरिएका आर्थिक दृष्टिकोणमाथि प्रकाश पारिएको लेखक कार्कीकाे भनाई छ । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update