Lumbini Rise
काठमाडौंमा  छोटा र कम सिटे बसले यात्रुले पाए सास्ती

काठमाडौं -  भक्तपुरबाट कलंकी जाने बस चढेकी स्मिता श्रेष्ठलाई सहचालकले धकेलेको भन्दै झगडा पर्‍यो । सहचालकले ‘पछाडि सिट खाली छ’ भन्दै धकेलेपछि श्रेष्ठले प्रतिकार गरेकी थिइन्, लगत्तै झगडाको स्थिति भएको थियो ।

यात्रु कोचाकोच हुँदा रोक्दै मान्छे हाल्दै हिँडेको बसमा भने जम्मा १६  सिट थियो । ‘बस चाहिँ यत्रो छ, मान्छे चाहिँ ६० सिटे बसमा हाल्ने जति हाल्छ, गुन्द्रुक जसरी खाँदेर हुन्छ त ?,’ स्मिताको पक्षमा बोल्ने अन्य यात्रुले सहचालकलाई गाली गरे ।

मंगलबार जडीबुटीमा घटेको उक्त घटना काठमाडौंमा सयौं यात्रुले भोग्ने एउटा प्रतिनिधि घटनामात्र हो । सार्वजनिक सवारीमा यात्रा गर्नेले बसमा यस्ता घटना दैनिकजसो भोग्नुपर्छ । टिकाथलीबाट महाराजगञ्ज चल्ने नेपाल यातायात चढेका ४७ वर्षीय भागिरथी बास्तोला भन्छिन्, ‘हामी सुरुमा चढ्ने, अन्तिममा ओर्लने भएर अन्तिम सिटमा बस्छौं तर यत्रो पुन्टे बस हालेको छ । त्यहाँ कोटेश्वर चोक पुग्दा मान्छे खाँदेर लास्टसम्म आइपुग्छ ।’

उनले यात्रु चाप हुने धेरै स्थानमा लामो र दुई तले बस हुनुपर्ने बताइन् । ‘कम्तीमा बस राख्दा अहिलेको ३ वटा चल्ने बस बराबर एउटै बस हुनुपर्‍यो नि, बस चाहिँ टेम्पोजक्रो छ, मान्छे चाहिँ कोचेर हुन्छ त ?,’ आत्रोशित मुद्रामा उनले भनिन् ।

छेउमै रहेका नेपाल यातायातका सहचालकले उनको तर्क काट्दै भने ‘अहिले हालेको बस त लामै छ, पुरानो त सबै सानै त छ नि! धन्य, यति नै चलायो भन्नु छैन, जो पनि गाली गर्न आउँछ,’ ती सहचालक रिसाउँदै भन्छन् । काठमाडौं उपत्यकामा चल्ने बस छोटा र कम सिटे हुँदा सार्वजनिक सवारी याक्रुले सास्ती बोक्दै आएको गुनासो व्यत्त गर्छन् । यात्रुले सार्वजनिक बस सुधार्दा धेरै निजी सवारी कम हुने बताउँदै आएका छन् ।

उपत्यकामा सार्वजनिक बस चलाउने यातायात व्यवसायी भने सरकारकै कारण व्यवसायीलाई छोटा बस हटाउन गाह्रो भएको बताउँछन् । अरनिको यातायात व्यवसायी संघ अध्यक्ष केदार क्षेत्रीले व्यवसायीले पुरानो छोटो गाडी हटाएर नयाँ बस राख्न नसक्ने बताए ।

व्यवसायीले भने जस्तै अहिले लामो बस हाल्दा पिक आवर बाहेक अन्य समयमा खाली नै हिँड्नुपर्ने स्थिति रहेको भन्दै गजुरेलले यसलाई सुधार्न बस स्टेसन सुधार गरेर बस रोकिने समय, तालिका र रुटबारे राम्रो व्यवस्थापन गर्न आवश्यक  रहेको टिप्पणी गरे ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको  यातायात व्यवस्था विभागले राजधानी तथा ठूला सहरमा सार्वजनिक यातायात सुधारमा काम गरिरहेको  जनाएको छ ।विभागका अधिकारीहरू व्यवसायीले गरेको गुनासो गलत नभए तापनि सरकारले सार्वजनिक यातायात सुधार्न प्रयत्न गरिरहेको बताउँछन् ।

‘सरकारको नीति नै सार्वजनिक यातायातलाई प्राथमिकता दिने हो । सहरी क्षेत्रका लागि संघीय सरकारले यातायात प्राधिकरण गठन गर्न विधेयक नै बनाएको छ ।उक्त विधेयक अनुसार काम हुँदै पनि छ,’ विभागका एक अधिकारी भन्छन्, ‘सार्वजनिक यातायातका लागि काम नै नगरेको भन्न चाहिँ मिल्दैन ।’

काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुबेर नेपालीले सहरी यातायातका दृष्टिकोणले काठमाडौंमा चल्ने सार्वजनिक बस अधिकांश अनुपयुक्त रहेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update