Lumbini Rise
गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली  जडान

 

भैरहवा - 'लो भिजिभिलिटी'मा पनि अवतरण गर्न मिल्ने गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बिहीबारदेखी आरएनपी–एआर ( रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड ) प्रणाली शुरु गरिएको छ । १८ सय भन्दा मिटर भन्दा कम भिजिविलिटी हुँदा विमानस्थलमा अवतरणमा समस्या नहोस् भन्नका लागि आरएनपी–एआर प्रणाली शुरु गरिएको हो ।  

यो भूउपग्रहमा आधारित प्रणाली हो ।  कम प्रकाशमा उडान र अवतरणका लागी बिमानस्थलमा आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) जडान भएपनि छिमेकी देश भारतले सहमती नदिदा यो प्रविधी सञ्चालनमा हुन सकेको छैन । भारतीय आकाशको प्रयोग गर्नुपर्ने तर भारत सरकारले सहमती नदिएपछि गौतमबुद्धमा आईएलएसको विकल्पमा भू–उपग्रहमा आधारित आरएनपी–एआर प्रणाली शुरु गरिएको हो । यो प्रविधि विमान कम्पनीहरुले जडान गरी लागू गर्नुपर्ने छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आईएलएसको विकल्पमा आरएनपी–एआर प्रणाली नागरिक उडड्यन प्राधिकरणले लागू गर्न थालेको बताए । ‘अहिले यान्त्रिक विधिबाट अवतरण भइरहेको छ, अब लो भिजिविलिटिमा पनि ककपिटमा राखिएको आरएनपी–एआर उपकरणले अवतरणमा सहज बनाउनेछ’ उनले भने । उनका अनुसार अनुसार भू–उपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन गरी विहिबारदेखि शुरु गरिएको हो ।

अहिले गौतमबुद्ध बिमानस्थलमा यांत्रिक विधि(भिओआर– डिएमई)मार्फत  अवतरण गर्दा न्यूनतम भिजिबिलिटी १८ सय  मिटर चाहिनेमा अब आरएनपी–एआर विधिमा ९सय  मिटर भिजिविलिटीमा पनि जहाज अवतरण गर्न सकिने महाप्रबन्धक तिवारीले बताए । ‘क्यानले यो प्रविधि शुरु गर्‍यो तर, यसमा विमान कम्पनीहरुले पाईलटलाई तालिम दिएर यो विधिमा ल्याण्ड गराउनुपर्छ’ महाप्रवन्धक तिवारीले भने । उनले यो प्रविधि विमानलाई डाइरेक्सन गरी कुन एङगलबाट जहाज बिमानस्थलमा अबतरण गर्ने  भन्ने निर्देशनहरु पाइलटले फलो गर्नुपर्ने उनले बताए ।

यो प्रविधि बिशेष गरी अप्ठ्यारो र भोगौलिक रुपमा खोँच भएका विमानस्थलहरुमा प्रयोग गर्ने गरिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । तिवारीका अनुसार यो प्रणालीबाट विमानकम्पनीहरुले गौतमबुद्ध विमानस्थलमा अवतरण गरेमा हाल विद्यमान अवरोध हटने छ ।

यो प्रणाली लागु भएता पनि यस अनुसार उडान अवतरण गर्न विदेशी एअरलाइन्स कम्पनीहरुले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम पुरा गरी अनुमति लिनुपर्ने उनले बताए ।  अनुमति लिएपश्चात पाइलटहरुलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रकृया पूरा गर्न पर्दछ  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ९०० मिटरको भिजिबिलिटिमा काम गर्ने प्राविधिकहरुको भनाई छ ।

तराई मधेशमा  मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी घट्ने समस्याले अन्तर्राष्ट्रिय मात्रै नभई बाह्य उडान स्थगन हुने गरेको छ । यो समस्या समाधानका लागि ‘आरएनपी–एआर’ प्रणाली लागू गर्न लागिएको हो । मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका छन् ।हाल यहाँबाट फ्लाई दुबई र नेपाल एयरलायन्सले मात्रै उडान भरिरहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update