Lumbini Rise
जितगढी किल्ला : नेपालको पहिचान



बुटवल -  नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाले अग्रेज सेनालाई परास्त गरेको ऐतिहासिक स्थल हो जीतगढी किल्ला । २०८ बर्ष पहिले अग्रेज परास्त गरेको यहि ऐतिहासिक स्थलमा बुटवल उपमहानगरले प्रत्येक वष्र्या बैशाख ७ गते जीतगढी उत्सवका रुपमा मनाउँदै आएको छ ।   


विस १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो ।  अंग्रेज फौजलाई पराजित गरेर देशको सिमा र स्वाभिमान बचाएको सम्झनामा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउने गरेको छ ।
 

यस्तो छ किल्लाको इतिहास

१८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा युद्ध भएको थियो । त्यतिखेर अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेका थिएनन ।

कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।


पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो ।


जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो ।


पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा  विजय हासिल गर्‍यो । युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए ।  दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ ।  


भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पुजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तीनपटक मन्दिर घुमाइन्छ । दिउँसो बली दिएपछि रथलाई उठाउने चलन छ । रथलाई तीन पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ । रथलाई  मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ ।  केहि बर्षअघिसम्म भग्नाअबशेषका रुपमा रहेको जीतगढी किल्ला अहिले निर्माणधिन छ । 

२०७४ को निर्वाचनपछि स्थानीय सरकारमा आएका जनप्रतिनिधिहरुले जीतगढी किल्लाको संरक्षणका काम शुरु भएको थियो । अहिले किल्ला भित्र पुरातात्विक बस्तुको संरक्षण गर्दै किल्लाको ऐतिहासिक झल्को दिने गरि संरचना बनाईएको छ ।  पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । 

गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ ।  पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ ।  वि.सं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघि देखि नै गढीको अस्तित्व रहेको बताइएपनि यसको पुष्टि भने हुन सकेको छैन ।


आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ मा पुरातत्व विभागले दुईपटक उत्खनन गरेको थियो । उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिएपनि परिसरबाहिर भने खासै प्राचीन वस्तु भेटिएनन् । यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन गराएको थियो ।   

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update