
बुटवल-बुटवलको ज्योतिनगर पहिरो क्षेत्रको हलचल पत्ता लगाउन बेलायती अनुसन्धानकर्ताले पहिरो क्षेत्रमा राखेको क्यामराको चिप्स बेलायत पठाएका छन् । पहिरो नियन्त्रणका लागि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका सहायक प्रोफेसर डा।
म्याक्समिलन भान डे भ्रिज र अनुसन्धानकर्ता हाजार्ड सेन्सिङसहित बुटवल आएको टोलीले गत वैशाखमा ज्योतिनगर र मिलनपथ पहिरो क्षेत्रको स्थलगत निरीक्षण गरी क्यामरा जडान गरेको थियो ।
बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालले बेलायतबाट आएको विज्ञसहितको टोलीले ज्योतिनगर र मिलनपथको पहिरो क्षेत्रमा जडान गरेको क्यामरामा चिप्स अध्ययनका लागि बेलायत पठाइएको बताए ।
पाँच वटा क्यामराबाट पहिरोको हलचल पत्ता लगाउने, पहिरो जाने अवस्था जमिनमुनि भित्रबाट हो कि बाहिर हो भन्ने पत्ता लगाउने तथा पहिरो जाने अवस्थामा पूर्वसूचना दिने गरी क्यामरा जडान गरिएको थियो ।
बुटवलका लागि ज्योतिनगर पहिरो साढे दुई दशकदेखि हैरानी बन्दै आएको छ । २०५५ भदौ २० गते बुटवलको ज्योतिनगर र मिलनपथ क्षेत्रमा पहिलो पटक पहिरो गएको थियो ।
स्थानीयले धेरै पटक पहिरोकै कारण विस्थापनको पीडा भोग्दै आएका छन् । सङ्घीय सरकारको सहयोगमा मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा पहिरो नियन्त्रणका लागि तीन करोड रुपियाँ बराबरको काम सम्पन्न भएको छ ।
सङ्घीय सरकारको करिब तीन करोड रुपियाँ बजेटमा चुरे क्षेत्रको पहिरो नियन्त्रणका लागि चेक ड्याम, रिटर्निङ वाल, ग्याबिन जाली, बक्स कलभर्ट निर्माणको काम सम्पन्न भएको हो । चार वर्षअघि २०७८ सालमा पनि ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको थियो ।
बुटवल उपमहानगरपालिकाले पनि चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ । बुटवल उपमहानगरपालिका–३ का विपत् व्यवस्थापन संयोजक अमृत खड्काले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकार, बुटवल उपमहानगरपालिका, राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायतका निकायबाट गरिएको प्रयासका कारण अहिले पहिरोको जोखिम कम भएको बताए।
बुटवल उपमहानगरले गत वर्ष पनि ग्याबिन जाली लगाउने, खोल्सा सफा गर्ने, पानीको बहाबलाई व्यवस्थित गर्ने जस्ता काम गरेको थियो । संयोजक खड्काले पहिरोबाट सम्भावित जोखिम न्यूनीकरणका लागि बुटवल उपमहानगरपालिकाले डोजर तथा एक्साभेटर तयारी अवस्थामा राखेको बताए।