-1752639344.jpg)
बुटवल - रुपन्देहीको तिलोत्तमा ५ नयाँमिलमा रहेको एक घरबाट चार दिनको अन्तरालमा २३ वटा कमन कोब्राका बच्चा (बेबी कोब्रा) को उद्धार गरिएको छ।
घरधनीलाई सर्पले टोकेपछि उद्धारका लागि पुगेका सर्प उद्धारकर्ताको टोलीले एकपछि अर्को गर्दै यति ठूलो संख्यामा सर्पका बच्चा फेला पारेका हुन्।
असार २२ गते दिउँसो करिब साढे ४ बजेतिर घरधनी दिलराम अर्याल भान्सामा चिया पकाउँदै गर्दा उनलाई कोब्राको बच्चाले टोक्यो। सर्पको टोकाइबाट घाइते भएका उनलाई छिमेकी र श्रीमती सरस्वती अर्यालले तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए।
यता, घरमा सर्प देखिएको खबर छिमेकीमार्फत बेलुका ७ बजे सर्प उद्धारकर्ता विशाल पाण्डेसम्म पुग्यो। खबर पाएलगत्तै घटनास्थल पुगेका पाण्डेले सुरुमै घरको ढोको अगाडि एक कोब्राको बच्चा फेला पारे।
‘म त्यहाँ पुग्दा घरधनीलाई अस्पताल लगिसकिएको रैुछ। घरभित्र छिर्न लाग्दा मूल ढोकाको पेटीमै एउटा बच्चा भेट्टाएँ। घरभित्र पसेर हेर्दा गल्लीमा तीनवटा सलबलाइरहेको देखियो,’ उनले भने।
आफू एक्लैले यति धेरै सर्पको उद्धार गर्न नसकिने लागेपछि उनले आफ्नो बुबा र भाइलाई पनि बोलाए। उनका बुबा र भाइ पनि सर्प उद्धारकर्ता हुन्।
‘त्यसपछि हामीले थप एउटा बेबी कोब्रा किचनमा फेला पर्यौं। यसरी पहिलो दिन म, बुबा र भाइ मिलेर पाँच वटा बेबी कोब्राको उद्धार गर्यौँ,’ उनले थप सुनाए।
पहिलो दिन पाँच वटा बच्चाको उद्धारपछि उनलाई भान्साको र्याकभित्रै सर्पको गुँड हुनसक्ने आशंका भयो।तर, घरधनी अस्पतालमा भएकाले र्याक भत्काउने अनुमति थिएन। ‘मलाई किचनको र्याकमा नै शंका थियो तर, घरबेटी नभई भत्काउने कुरा पनि त भएन,’ पाण्डेले भने।
भोलिपल्ट बिहान दिलराम अस्पतालबाट घर फर्किए। तर, पनि अर्याल परिवार ढुक्क हुने अवस्थामा थिएनन्। उनीहरूमा अझै सर्प हुन सक्ने आशंका थियो। उनीहरूले विशाललाई फोन गरेर फेरि एकपटक हेरिदिन आग्रह गरे।
विशाल पेसाले जापानी भाषाको शिक्षक पनि हुन्। फोन आएपछि पढाउन छाडेर उनी हतार-हतार सोही घरमा पुगे। केही समय खोजी भयो। केही भेटिएन।
उनलाई भान्साको र्याकमै गुँड हुने शंका भने थियो नै। उनले मिस्त्री बोलाएर भान्साको र्याक भत्काउन घरबेटीलाई सुझाए। र, दिउँसो २ बजे फेरि आउने बाचासहित घर फर्किए।
उनी गएको केही बेरमै उनले शंका गरेको र्याकबाट कोब्राका केही बच्चा निस्किए। घरधनी अत्तालिँदै तुरुन्तै उनलाई सम्पर्क गरे। उनी पनि हतार-हतार पुगे। मिस्त्री आउन समय लाग्ने भएपछि घरधनीको अनुमतिमा उनी आफैँले भान्साको र्याक भत्काउन सुरु गरे। घर पुरानो शैलीमा बनेको थियो। कमजोर थियो। घरको भान्सामा काठको र्याकमुनि बनाइएको तह भत्काउने क्रममा उनले माउ कोब्रालाई देखे।
माउ देख्न साथ उनी अत्तालिए। र, आफ्ना बुबा सर्पविज्ञ भएकाले उनले बुवा खिमलाल पाण्डे र भाइ विश्वास पाण्डेसहित आफैँले प्रशिक्षण दिएका अन्य सर्प उद्धारकर्ता भाइहरूलाई फोन गरे। टोलीका अन्य सदस्यहरू सागर पाण्डे, नवीन पौडेल र युवराज तिवारी पनि उद्धारमा खटिए।
त्यसपछि सुरु भयो, माउलाई बाहिर निकाल्ने प्रयास। मिस्त्री आइपुगेपछि उनको सहयोगमा घरको तोडफोड सुरु भयो। घर पुरानो अनि भुइँ कमजोर भएकाले बिस्तारै भासिन थाल्यो। त्यसपछि थप तोडफोड सम्भव भएन।
उनीहरुले फिनेल पानी हालेर निकाल्ने प्रयास गरे। तर, केही सीप लागेन। फिनेल पानीको घोल हालेर सर्पलाई बाहिर निस्कन बाध्य बनाउने प्रयास पनि असफल भयो। माउ सर्प भुइँमुनिको जटिल सुरुङ प्रणालीमा हराइरह्यो।
पाण्डेले भने, ‘घर पुरानो भएकाले जमिन भासिँदै गएको थियो। माउलाई समात्न सकिएन। तर, त्यहाँबाट हामीले करिब ५र६ घण्टाको अन्तरालमा थप १२ वटा बच्चाको उद्धार गर्यौँ।’
त्यसपछि थप सतर्कताका लागि उनी आफैँले सो कोठा सिल गरे। तर, घरपरिवारले कामका लागि भन्दै सिल हटाएपछि फेरि एउटा सर्प देखा पर्यो। विशाल फेरि पुगेर एउटा सर्पको उद्धार गरे। पुनः सिल गरे र फर्किए।
तेस्रो दिन पनि बिहान ८ बजे उनी त्यहाँ पुगे। सोही ठाउँमै जुगाहरु झै सर्पहरू देखिए। उनीहरुले थप पाँच वटा उद्धार गरे।
यससँगै तीन दिनमा उक्त घरबाट उद्धार गरिएका कोब्राका बच्चाहरूको संख्या २३ पुग्यो। माउ निस्किन्छ कि भन्ने आसमा तेस्रो दिन सो कोठा निगरानीमै राख्ने निर्णय भयो।त्यसपछि, चौथौ दिन थप बच्चा देखिएन र भेटिएन। माउ निकाल्ने तीन दिनको असफल प्रयासपछि, विशाल एक निर्णयमा पुगे। ढलान गर्ने।
घरधनीको सहमतिमा मिस्त्री बोलाएर ढलान भयो। ‘हाम्रो लागि त्यो धर्म(सङ्कटको क्षण थियो,’ विशालले भावुक हुँदै सुनाए, ‘एकातिर एउटा जीव बचाउनु हाम्रो धर्म थियो, अर्कोतिर त्यो घर र परिवारको सुरक्षा थियो। भुइँ भासिँदै थियो, घर नै जोखिममा थियो। हाम्रो लागि अर्को कुनै विकल्प बाँकी रहेन। हामीले ढलान गर्ने निर्णय गर्यौँ।’
यति ठूलो संख्यामा सर्पका बच्चा एउटै घरमा कसरी भेटिए भन्ने प्रश्नमा विशालले आफ्नो अनुमान सुनाए। उनका अनुसार माउ कोब्रा बच्चा कोरल्न सुरक्षित स्थानको खोजीमा थियो।
‘पोथी कोब्राले फुल पार्न सुरक्षित र न्यानो ठाउँ खोज्छ। यो घरको भान्सामा रहेको पुरानो काठको संरचनामुनि उसले सुरक्षित ठानेर फुल पारेको हुनुपर्छ,’ पाण्डेले सुनाए, ‘कोब्राले एक पटकमा ४० देखि ५० ओटा सम्म अन्डा पार्न सक्छ। त्यस ठाउँमा हामीले सर्पको काँचुली पनि भेट्टायौँ, हेर्दा ६र७ महिनाको जस्तो देखिन्थो। फुल पारेपछि र बच्चा कोरलिएपछि उसको आकार बढ्यो र जुन सानो प्वालबाट पसेको थियो, त्यहाँबाट निस्किन सकेन। निस्किने अवस्था नै देखिएन।’
१३ वर्षअघिको एउटा संयोग
यो घटना विशाल परिवारको एउटा दुर्लभ संयोगसँग पनि जोडिएको छ। विशालका अनुसार १३ वर्षअघि उनका बुबा खिमलाल पाण्डेले पनि सोही घरबाट ११ वटा कोब्राका बच्चाको उद्धार गरेका थिए।
‘यहीं घरमा १३ वर्षअघि पनि बुबाले ११ वटा बच्चा निकाल्नुभएको रहेछ। यो हाम्रो लागि पनि अनौठो अनुभव थियो,’ उनले भने।
यता, घरधनी दिलराम अर्यालको स्वास्थ्य अवस्था अहिले सामान्य छ। एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्पका बच्चा भेटिनुलाई दुर्लभ मानिन्छ। पाण्डे परिवारका तीनै बाबुछोरा सर्प उद्धारमा सक्रिय छन्। *नागरिकबाट साभार*