Lumbini Rise
लुम्बिनीम लैंगिक हिंसा :  प्रहरीमा १२ हजार उजुरी


अम्बिका परियार


बुटवल - लैंगिक हिंसा विरुद्ध सरकारदेखि गैरसरकारी क्षेत्रबाट बर्षेनी सचेतनाका कार्यक्रमहरु भइरहेका छन् । तर, लैंगिक हिंसा न्यूनिकरण भने भएको देखिदैन । बरु लैंगिक हिंसाका जघन्य अपराधहरु बृद्धि भइरहेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकलाई हेर्दा हिंसाको अवस्था भयावह छ  । अधिकारकर्मीहरुले प्रहरीको तथ्यांक भन्दा झन्डै दोब्बर हिंसा समाजमा रहेको बताउने गर्छन । यस आधारमा हेर्ने हो भने लुम्बिनी प्रदेशमा लैंगिक हिंसाका घटना प्रत्येक वर्ष बढेको देखिन्छ ।


पछिल्लो चार वर्षमा लुम्बिनी प्रदेशका १२ जिल्लामा ११ हजार ८४८ जना महिलाहरु घरेलु हिंसाको शिकार भएका छन् । यसमध्ये ७ हजार ९८१ घरेलु हिंसाका मुद्धामा प्रहरीले मिलापत्र गराएको छ । यसरी हेर्दा आधा भन्दा बढि घरेलु हिंसा मिलापत्रमा टुगिंएको छ । यसका साथै पछिल्लो समय जबरजस्तीकरणीका घटना पनि त्यस्तै डरलाग्दो गरी बृद्धि भइरहेको छ ।  

सचेतना र जागरणका कार्यक्रमहरु भइरहेपनि महिलामाथिको हिंसा झन–झन् अमानवीय र क्रूर बन्दै गएको छ । प्रहरीको तथ्यांक बृद्धि हुँदै जानुमा भने सचेतनाले प्रमुख भूमिका खलेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठको तर्क छ । ‘नागरिकहरुमा सचेत भएकै कारण हिंसा सहेर बस्दैन, न्यायका लागि उजुरी गर्नेक्रम बढेको हो’ उनले भने –‘प्रहरीले पनि कारवाहीका लागि पहल गरिरहेको छ ।’  


लुम्बिनी प्रदेशमा घरेलु हिंसासँगै जबरजस्तीकरणीको घटना बढ्दै गएको देखिएको छ । प्रहरीका अनुसार लुम्बिनीमा पछिल्लो चार वर्ष (०७७ देखि ०८१ कार्तिकसम्म) १ हजार ७५८ वटा जबरजस्तीकरणीका मुद्धा दर्ता भएका छन् । यति मात्रै होईन जघन्य अपराध जबरजस्ती करणी उद्योगमा चार वर्षमा ४४७ मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।


चालु आर्थिक वर्ष ०८१÷०८२ मा जबरजस्ती करणी  मुद्धा रुपन्देहीमा सबैभन्दा धेरै २६ वटा दर्ता भएको छ । यसरी हेर्दा रुपन्देही लगायत लुम्बिनी प्रदेशमा लंैगिक हिंसाका घटनाहरुमा कमी आएको छैन । यसले जबरजस्तीकरणीबाट महिलाहरु प्रताडित भएको देखिन्छ । लैंगिक हिंसा विरुद्धको अभियानहरुले महिलाहरुमा सचेतना गराएकाले पनि उजुरीहरु परेको अधिकारकर्मी सावित्रा घिमिरेको भनाई छ । 

पितृसतात्मक सोंचका कारण महिलाहरुमाथि हिंसा भइरहेको र अझै कयौं ठाउँमा हिंसा सहेर बस्नुपरेको उनको भनाई छ । सरकारले लैंगिक हिंसा अन्त्यका लागि बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताईन । ‘महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने र बनेका नीतिहरुको कार्यान्वयनमा सरकार लागि पर्ने हो भने केही हदसम्म हिंसा न्यूनिकरण हुन्छ’ अपाङ्गता राष्ट्रिय निर्देशन समितिका सदस्य समेत रहेकी घिमिरेले भनिन ।

यस्तो छ तथ्यांकमा हिंसा


लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा  जवरजस्ती करणी (ज.ज.क.) सम्बन्धि ४३७ मुद्दा दर्ता  भएको मध्ये सबै भन्दा धेरै रुपन्देहीमा ८० वटा  र सबै भन्दा कम रुकुम पुर्व ४ वटा मुद्धा दर्ता भएको देखिन्छ । 

जवरजस्ती करणी उद्योगमा  १३३, बहुबिबाह १३१, बालविवाह १०, बोक्सीको आरोप ८, अवैध गर्भपतन ११,जातीय छुवाछुत ५, अप्राकृतिक मैथुन ९ ,बालयौन दुरुपयोग २६ गरि ७ सय ७० मुद्धा दर्ता भएका छन् भने घरेलु हिंसाको २ हजार ३१८ उजुरी परेको छ ।


यस्तै आ.व.२०७८÷०७९ जवरजस्तीकरणी सम्बन्धि ३८४ वटा, जबरजस्तीकरणी उद्योग(ज.ज.क.उ) १३०, बहुबिबाह १६५, बालविवाह ९ , बोक्सीको आरोप ७,अवैध गर्भपतन ३,जातीय छुवाछुत ४, अप्राकृतिक मैथुन ६, बालयौन दुरुपयोग ३६ वटा ७४४ मुद्धा दर्ता भएका थिए भने घरेलु हिंसाको २८६० वटा उजुरी परेका थिए ।


त्यस्तै आ.व. ०७९/०८० मा जवरजस्तीकरणी सम्बन्धि ३५८ वटा मुद्धा,ज.ज.क.उ ९०, बहुबिबाह १३२ , बालविवाह ८, बोक्सीको आरोप २,अवैध गर्भपतन ३ ,जातीय छुवाछुत ८, अप्राकृतिक मैंथुन ९,बालयौन दुरुपयोग ४५ गरि ६५५ वटा मुद्धा दर्ता भएका छन् त्यस्तै घरेलु हिंसाको २ हजार ८८८ जिल्ला उजुरी परेका थिए ।


त्यस्तै आ.व ०८०/०८१ मा जवरजस्तीकरणी सम्बन्धि ४३५ वटा मुद्धा ,ज.ज.क.उ ७१, बहुबिबाह ११५, बालविवाह २४ , बोक्सीको आरोप १ ,अवैध गर्भपतन ४ ,जातीय छुवाछुत ३, अप्राकृतिक मैंथुन १ ,बालयौन दुरुपयोग  ५९ गरि ७१३ वटा मुद्धा दर्ता भएका थिए भने २ हजार ७९६ घरेलु हिंशाका उजुरी दर्ता भएका थिए  ।


चालु आ.व ०८१/०८२ को चार महिनामा जवरजस्तीकरणी सम्बन्धि १४४  वटा मुद्धा ,ज.ज.क.उ २३ , बहुबिबाह  ३१ , बालविवाह ८ , अवैध गर्भपतन १ ,अप्राकृतिक मैंथुन ४ ,बाल यौन दुरुपयोग १९ वटा गरि जम्मा २३० वटा मुद्धा दर्ता भएका छन् भने चालु आ.ब.२०८१/०८२ को ४ महिनाको अवधिमा लुम्बिनी प्रदेशको १२ जिल्लामा घरेलु हिंसाको ९८६ उजुरी दर्ता भएको छ ।
 

 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update