Lumbini Rise
आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्चमा

काठमाडौँ- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। उनलाई सुझाउनेहरूले सरकारले जिम्मेवारीबाट हटाए लगत्तै अर्थात हिजो नै सर्वोच्च जान पर्ने बताएका थिए।

कार्कीका तर्फबाट अधिवक्ताहरू रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। ‘हामी रिट लिएर पुगेका छौं,’ अधिवक्ता टीकाबहादुर कुँवरले भने, ‘अन्य प्रक्रिया चलिरहेको छ।’

आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले पुनर्बहालीको मागसहित रिट निवेदन दिन लागेका हुन्। अदालतको प्रशासनिक प्रक्रिया पूरा भई रिट दर्ता हुन भने बाँकी छ। सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। केसीले बुधबार नै दर्ज्यानी चिह्न ग्रहण गर्दै पदभार सम्हालिसकेका छन्।

कार्कीलाई आईजीपीबाट हटाएपछि प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा राखिएको छ। सरकारले प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको नयाँ पद सिर्जना गरी उनलाई उक्त जिम्मेवारी दिएको हो।नवनियुक्त आईजीपी केसी र निवर्तमान आईजीपी कार्की एउटै ब्याची हुन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update