पाल्पा । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफूले बनाएका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग सङ्कलन गरिरहेका छन् ।
समुदायका सदस्य बन्दवीर शाहीका अनुसार उनीहरूले परम्परागत सीपबाट काठका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका छन् । तर, अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि आम्दानीको स्रोत घटेको छ ।
“पहिले जङ्गलका रुखबाट ठेकी, कोसी बनाएर बेच्थ्यौँ र खर्च चलाउँथ्यौँ । अहिले रुख काट्न पाइँदैन । त्यसैले सहयोग माग्न विभिन्न ठाउँ पुग्नुपर्छ,” शाहीले भने ।
उनले दसैँ पनि यसैगरी खर्च जुटाएर मनाएको बताउँदै तिहारमा मिठोमसिनो खान र समुदायका सदस्यसँग रमाइलो गर्न रकम जुटाउने उद्देश्यले पाल्पा आएको बताए ।
राउटे समुदायका सदस्यहरू विभिन्न जिल्ला पुगेर स्थानीय तह तथा सरकारी कार्यालयमा सहयोग माग्ने गरेका छन् । उनीहरूले परम्परागत सीपबाट बनाएका काठका सामग्रीप्रति स्थानीयवासीले पनि चासो देखाएका छन् ।
परम्परागत रूपमा अन्नसँग काठका सामग्री साट्ने राउटे समुदाय पछिल्लो समय नगद कारोबारमा अभ्यस्त हुँदै गएको छ । बदलिँदो जीवनशैली, परम्परागत पेसाबाट घट्दो आम्दानी र बाह्य प्रभावका कारण उनीहरूको जीवनशैलीमा समेत परिवर्तन आउँदै गएको छ ।

