
राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट बिदाइ लिँदै गर्दा प्रकाश कुमार श्रेष्ठले शनिवार बिहान सामाजिक सञ्जालमा यस्तो लेखेका छन् । जसलाई हामीले जस्ताको तस्तै उतारेका छौँ ।
१. आजदेखि युवा अवस्थाको उर्वर समयको करिब साढे २७ वर्ष बिताएर नेपाल राष्ट्र बैङ्कको स्थायी जागिरबाट अनिवार्य अवकाशमा। उक्त संस्थाले जागिर अवधिमा उच्च अध्ययन, मौद्रिक नीति र केन्द्रीय बैंकसम्बन्धमा तालिम गोष्ठीमा सहभागी हुने अवसर दिलायो।
छात्रवृत्तिमा उच्च अध्ययन गर्न जाँदा पनि केन्द्रीय बैङ्कलाई काम लाग्ने समष्टिगत, मौद्रिक र वित्तीय अर्थशास्त्रका विषयहरू बढी अध्ययन गरियो । पिएचडीको शोध त 'साना अर्थतन्त्रमा मौद्रिक नीति, बैङ्किङ प्रणाली र विदेशी विनिमय सञ्चिति' रहेको थियो। आर्थिक अनुसन्धान विभाग सहित अन्य विभाग र कार्यालयमा रहेर निष्ठापूर्वक योगदान दिए जस्तो लाग्छ।
यी सबै अवसरको लागि राष्ट्र बैङ्क लाई ह्रददेखि मुरी मुरी धन्यवाद। अझ, बेलाबखत नेपाल सरकारले दिने जिम्मेवारी निर्वाह गर्ने अवसर पनि प्रदान गर्यो । यसले गर्दा खारिने र अनुभव बढाउने अवसर मिल्यो । यस संस्थाको महानता कायम राख्न समयानुकूल थप सुधारको खाँचो भने अझै छ ।
२. राष्ट्र बैङ्ककै क्याडर रहेको, जागिरको उत्तरार्ध तिर गभर्नरको पद खाली हुन लागेको अवस्थामा नेपाल सरकारले गभर्नरको लागि मौद्रिक अर्थशास्त्री आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस् भनेर समयमा नै राजीनामा दर्ता गराएको थिए। तर, आवश्यक नपर्ने बुझिए पछि राजीनामा निष्क्रिय भएको हो।
केही मिडियाले कामु गभर्नरले मेरो राजीनामा स्वीकृत नगरेको भन्ने गरेको कुरा सत्य होइन। केही ढिला भए पनि राष्ट्र बैङ्कले कृषि र स्रोत विज्ञ, आर्थिक इतिहासका जानकार गभर्नरको रूपमा पाएको छ । पक्कै पनि नयाँपन आउने छ । उहाँलाई हार्दिक बधाई र कार्य सफलताको शुभकामना। यस सन्दर्भमा मेरो लागि अपेक्षा गरेर शुभकामना, सद्भाव र शुभेक्षा दिनु हुने सबैलाई धन्यवाद।
३. म अझै सार्वजनिक सेवामा नै छु, केही मिडियामा भ्रामक समाचार पनि छन्। नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सदस्यको महत्त्वपूर्ण जिम्मेदारीमा गत साउनदेखि राखेको छ ।
आफ्नो बुद्धि र विवेकले भ्याएसम्म यस संस्थाको जिम्मेवारी निर्वाहको भूमिका खेलिरहेको छु, थप अनुभव पनि भइरहेको छ। थप प्रभावकारिताको लागि यस संस्थाको राम्रै पुनर्संरचना गर्नु पर्ने देख्दछु।
भोलिका दिनमा सार्वजनिक सेवामा नरहे पनि शैक्षिक, बौद्धिक, सामाजिक, व्यावसायिक काम गरेर देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्न सक्ने देख्छु। खुला आकाशमा विचरणको पनि मजै आउने छ।