
बुटवल – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आयोजना गरेको २५ औं बार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकार सांसदहरुमाथि गम्भिर प्रश्न उठाएका छन् ।
उनले लहलह धान उब्जनी हुने खेत मासेर दरबार बनाएकोमा आपत्ती जनाए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी स्थित मसुरियामा प्रदेश मन्त्रालयका लागि ‘मिनि सिंहदरबार’ बनाईएको तर्फ संकेत गर्दै उनले यस्तो भनेका हुन । सोमबार बुटवलमा आयोजना गरेको २५ औं रजत बार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख घर्तीले अनावश्यक र अनुपात्दक क्षेत्रमा राज्यको लगानी हुन नहुने संकेत गरे ।
गीत गाएर अनौपचारीक शैलीमा प्रस्तुत भएका घर्तीले प्रदेश प्रमुखका रुपमा बोल्दा सिमा हुने भन्ने सुनेको तर, आफू मनमा आएको कुरा खुलेर बोल्ने गरेको सुनाए । रोल्पाको सन्दर्भ र केही उखान टुक्का सहित बोल्न थालेका घर्तीले देउखुरीमा बस्न बोलाउदा पनि आफू नगएको सुनाए ।
‘म बुटवलमा बोल्दा राजधानी देउखुरी हुन हुँदैन भन्नेसँग सम्बन्धित छैन’ प्रदेश प्रमुख घर्तीले भने –‘पेटभरि खाना उब्जाउने खेत मासेर दरबार बनाउनुको अर्थ छैन।’ उत्पादन नहुने ठाउँलाई प्रयोग गर्नुपर्ने उनको सुझाव छ । अहिले भारतीय नाकाबाट सहज रुपमै खाद्यान्न आयात भएकाले खाना पाइरहेको सन्दर्भ उल्लेख गर्दै दीर्घकालिन रुपमा खेतीयोग्य जमिन मास्दा क्षती हुने उनले संकेत गरे । ‘नाका खुलेको छ, कुहिएको भएपनि खाना पाएका छौं’ प्रदेश प्रमुख घर्तीले भने ।
उनले जनप्रतिनिधिहरु मितव्ययी हुनुपर्ने बताए । उनले आफूले सांसद पद पटक पटक अस्विकार गरेको बताउँदै प्रदेश प्रमुखका रुपमा बाँधिन विवश भएको बताए । मानवअधिकार रक्षाका सन्दर्भमा गीतबाट भाषण शुरु गरेका प्रदेश प्रमुख घर्तीले आफूले सुधारका लागि बोल्ने गरेको बताए ।
उनले प्रदेश प्रमुख भएको १० महिनाको अवधिमा एक पटक पनि हवाई जहाज नचढेको, बुटवलका २ वटा केवलकार पनि नचढेको र भत्ता लगायतका सुविधा नलिएको बताए ।
‘१० महिनामा एक पटक पनि हवाई जहाज चढेको छैन, बुटवलदेखि नुवाकोट हिँडेर गए, केवलकार चढेको छैन, भ्रमण भत्ता पनि लिएको छैन’ उनले भने –‘अनावश्यक र फजुल खर्च कटौती ठूलावडाले नै गर्नुपर्छ ।’ उनले प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा निकायहरुलाई जनतामा आशा जगाउने गरी काम गर्नका लागि अनुरोध गरे । उनले नेपाल विविधायुक्त समाज भएकाले मानवअधिकार संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा रुपन्देहीका जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईं, बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, बार एसोसियएशनका केन्द्रीय सदस्य इन्दिरा आचार्य, चेम्बर अफ कर्मश लुम्बिनीका अध्यक्ष टंक पोख्रेलले बोल्दै मानवअधिकार रक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उक्त अवसरमा आयोगका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद ज्ञवालीले संविधानले नै मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि आफूहरुलाई स्पष्ट अधिकार दिएको बताउँदै मानवअधिकारको संरक्षणमा सबैक्षेत्रको साथ सहयोगको खाँचो रहेको औल्याए ।
कार्यक्रममा मानवअधिकार अधिकृत आशिष श्रेष्ठले संस्थाको गतिविधि प्रस्तुत गर्दै लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षमा ६ वटा मात्रै उजुरी दर्ता भएको बताए । यस्तै आयोगको लुम्बिनी कार्यालय बुटवलमा ६ वटा घटनाका सन्दर्भमा परामर्श लिइएको बताए ।
यस्तै कार्यक्रममा गैरसरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष सुशिला बेल्बासे ९जितकुमारी०, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिने पाण्डेय, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठक, माईती नेपालका भैरहवामा प्रमुख माया क्षेत्री, मानव अधिकारका लागि एकल महिलाका अध्यक्ष रीता सेन, मानवअधिकार अधिकृत प्रिथु खतिवडा लगायतले बोल्दै मानवअधिकार आयोगलाई २५ औं बार्षिकोत्सवको शूभकामना दिए ।