Lumbini Rise
बुटवलमा प्रहरीको सिसिटिभी चल्दैन, उपमहानगरबाट अनुसन्धान

बुटवल - बुटवलमा सडक विस्तारसँगै ट्राफिक प्रहरीले लुम्बिनी प्रदेश सरकारको सहयोगमा जडान गरेको सिसिटिभी क्यामेरा प्रयोग विहीन भयो। बुटवल राजमार्ग चौराहादेखि गोल पार्कसम्मको ३.२५ किलोमिटर सडक निर्माण सुरु भएसँगै सिसिटिभी प्रयोगविहीन भएको हो । विसं २०७३ साल चैतमा सम्झौता भएपनि २०७५ साल वैशाख १२ को अदालतको आदेशपछि निर्माण सुरु भएको थियो । त्यसयता मुख्य राजमार्गमा जोडिएका सिसिटिभी क्यामेराको प्रयोगबाट सुरक्षा अनुसन्धान गर्ने कार्य प्रभावित हुँदै आएको छ  । 

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयको सहयोगमा बुटवल क्षेत्रमा साँढे ४ वर्षअघि १२ वटा सिसिटिभी क्यामेरा जडान गरेको थियो । तर, प्रहरीले जडान गरेको सिसिटिभीले काम नगरेपछि बुटवल उपमहानगरले २०८१ मङ्सिरमा १२५ थान अत्याधुनिक सिसिटिभी (इन्टरनेट प्रोटोकल) क्यामेरा जडान गरेको हो।

उपमहानगरले सिसिटिभी क्यामेरा जडान गरेसँगै बुटवलको शान्ति सुरक्षामा सहयोग पुगेको छ । क्यामेरा जडानसँगै बुटवल क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना एवम् विभिन्न शान्ति सुरक्षासँग सम्बन्धित विषयमा अनुसन्धान गर्न सहयोग पुगेको बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि शर्माले बताउँछन् । ‘बुटवल बजारमा अझै सिसिटिभी अपुग नै छ’ उनले भने –‘प्रहरीसँग समन्वय गरेर थप गर्ने योजना भइरहेको छ।’ उनका अनुसार बुटवल उपमहानगरले बुटवललाई सुरक्षित सहर बनाउने अभियान अन्तर्गत सिसिटिभी क्यामेरा जडान गरेको हो।  उपमहानगरले चालू आर्थिक वर्ष ०८१/०८२ को बजेटबाटै ५२ लाख रुपैयाँ लागतमा सिसिटिभी क्यामेरा (आइपी) जडान गरेको उपमहानगरले जनाएको छ।

उपमहानगरले भुड्कीचौकदेखि गोल पार्कसम्म, अमरपथ, हाटबजार, पश्चिममा नेपालगन्ज रोडसम्म गरी १२५ वटा क्यामेरा जडान गरेको सूचना प्रविधि तथा तथ्याङ्क शाखा शाखा प्रमुख रोशन कुमार रेग्मीले बताए । उनका अनुसार बजार क्षेत्रमा हुने गतिविधिलाई कैद गर्ने गरी उपमहानगरमै क्याप्चर (कैद) गर्ने व्यवस्था मिलाइएको छ । ‘चौराहादेखि योगिकुटी र चौराहा पूर्व क्यामेरा जडान भइसकेको छैन, अन्य ठाउँका दृश्यहरू अनुसन्धानका लागि दिने गरिएको छ’ उनले भने।

उनले क्यामेरा जडानसँगै पछिल्लो समय प्रहरीहरूलाई अनुसन्धानका लागि भिडियोहरू उपलब्ध गराउँदै आएको बताए । मुख्य चोकहरूमा हाईमस्ट लाइट जडान गरिएकाले  सुरक्षा व्यवस्था थप मजबुद बनाइएको छ ।

सिसिटिभी क्यामेरा जडानका कारण अपराध अनुसन्धानमा प्रहरीहरूलाई फुटेज उपलब्ध गराउँदै आएको सूचना प्रविधि शाखाका प्रमुख रेग्मीले बताए । केही दिनअघि कोसी प्रदेशको हराएको टेम्पु बुटवल उपमहानगरले नै जडान गरेको सिसिटिभी फुटेजबाट पत्ता लागेको उनले सुनाए । ‘सिसिटिभी क्यामेरा जडानले धेरै सहयोग गरेको छ’ रेग्मीले भने –‘अपराध अनुसन्धानमा हामीले प्रहरीहरूलाई भिडियो उपलब्ध गराइरहेका छौँ।’ 

ip-camera-udghatan1-1749091136.jpg

बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्याल सहित २०८१ मङ्सिरमा १२५ थान अत्याधुनिक सिसिटिभी (इन्टरनेट प्रोटोकल) क्यामेरा शुभारम्भ गर्दै । 


बुटवल उपमहानगरले बजार क्षेत्रलाई नै मुख्य केन्द्रमा राखेर सिसिटिभी जडान गरेको हो। यद्यपि सडक निर्माणका कारणले मुख्य राजमार्ग क्षेत्रमा पनि अझै पनि सिसिटिभीको निगरानी पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र रानाले अहिले बुटवल उपमहानगरमा क्याप्चर हुने सिसिटिभी फुटेजबाटै अध्ययन अनुसन्धान अगाडि बढाइएको बताए । उनले पहिले प्रहरीले जडान गरेका क्यामेराहरू प्रयोगमा नआएको बताउँदै अहिले उपमहानगरको भरमा रहेको बताए ।

‘पूर्व र दक्षिण हाइवेका फुटेजहरू मिसिङ भइरहेको छ’ प्रहरी नायव उपरीक्षक रानाले भने –‘उत्तर र पश्चिम र बजार क्षेत्रमा सिसिटिभी निगरानी भइरहेको छ ।’ प्रहरी नायव उपरीक्षक रानाले सिसिटिभी क्यामेरा अझै आवश्यक रहेको तर, बजेटका कारणले समस्या भइरहेको बताए । ‘उपमहानगरले जडान गरेको मात्रै बुटवलको सुरक्षाका लागि पुगेको छैन, तर यतिले धेरै सहज बनाएको छ’ उनले भने। 

उपमहानगरपालिकाले आफ्नो लगानीमा बुटवलका बढी भिडभाड हुने कालिका नगर क्षेत्रमा सिसिटिभीको निगरानी बढाएको हो । यस्तै कालिकाचोक, मिलन चोक, ट्राफिक चोक, देविनगरचौक, बिपी चौक लगायतका क्षेत्रमा हाईमस्टलाईट जडान गरेको छ। यसका साथै कालिकाचोक, मिलन चोक र ट्राफिक चोकमा समेत सडक सुरक्षा र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट समेत जडान गरेको छ। 

हाइवेमा सिसिटिभी निगरानी कमजोर 

बुटवल उपमहानगरले भित्री बजार क्षेत्र र केही मात्रामा राजमार्ग क्षेत्रमा सिसिटिभी जडान गरे पनि राजमार्ग लक्षित सिसिटिभी निगरानी भने कमजोर देखिएको छ । बुटवल राजमार्ग चौराहादेखि गोल पार्कसम्मको सडक विस्तार सुरु भएसँगै प्रभावित भएका सिसिटिभी अहिले बन्द नै भएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले आफू भर्खर बुटवल आएको बताउँदै १२ वटा सिसिटिभी क्यामेरा बन्द रहेको जानकारी पाएको बताए । ‘२ वर्षदेखि प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा जडान भएका सिसिटिभी क्यामेरा बन्द भएको रहेछ’ ट्राफिक प्रमुख शर्माले भने। 

ट्राफिक प्रहरीको कन्ट्रोलमा हुने गरी बुटवलमा गोल पार्क, ट्राफिक चोक, पुष्पलाल पार्क, मिलन चोक, राजमार्ग चौराहा, भोगिकुटी, नेपालगन्ज रोड लगायतका क्षेत्रमा सिसिटिभी जडान गरिएको थियो । तर, यहाँ जडित सिसिटिभी सडक निर्माण र विस्तारका क्रममा कतिपय फालिए भने कतिपय मर्मत नै नभएपछि प्रयोगविहीन भएको हो । ‘दुर्घटनासम्बन्धी अनुसन्धानका लागि सिसिटिभी क्यामेरा अनिवार्य हो’ उनले भने –‘अब जडान गर्ने बारेमा तुरुन्तै लाग्नेछौँ।’ 

उनले आफू आउने बित्तिकै सुरक्षाको दृष्टिले सिसिटिभी जडानका विषयमा चासो राखेको बताउँदै स्थानीय, प्रदेश सरकारसँग छलफल गर्ने समेत बताए । उनले सिसिटिभी जडानका लागि बुटवल उपमहानगरसँग पनि छलफल भइरहेको बताए । ‘प्रविधिको प्रयोग नै सहरी क्षेत्रको सुरक्षाको भरपर्दो माध्यम हो’ उनले भने । उनले सिसिटिभीको अभावमा अनुसन्धान प्रभावित हुने भएकाले अब आफू तात्ने बताए । ‘यसबारेमा मेरो ध्यान पुगेको छ, सिसिटिभी जडानका लागि अब म तात्छु’ प्रहरी प्रमुख शर्माले भने। 

सिसिटिभी क्यामेरा अपडेट छैन 

२०७८ सालको जनगणना अनुसार १ लाख ९४ हजार ३३५ जनसङ्ख्या बुटवलको छ । यसबाहेक बुटवलमा अध्ययन, रोजगारी, व्यापार लगायतका क्षेत्रमा गरी ३ लाख भन्दा बढी मानिसहरूको बसोबास रहेको मानिन्छ । बुटवल पछिल्लो समय पहाडी भेगका मानिसहरूको बसोबासको प्रमुख आकर्षणको केन्द्र पनि हो।

पूर्वपश्चिम राजमार्गको मध्य भाग, भारतीय नाका बेलहिया हुँदै उत्तरी क्षेत्रमा रहेका मुक्तिनाथ, पोखरा जाने सिद्धार्थ राजमार्गको संगम विन्दु पनि बुटवल भएकाले यहाँ सुरक्षा चुनौती रहेको मानिन्छ । व्यापारको हिसाबले पनि बुटवल उतिकै महत्त्वपूर्ण क्षेत्र हो । समानता स्वाभिमान र अवसर बस्न योग्य बुटवल सहर भन्ने मुख्य नाराका साथ बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रमलाई केन्द्रित गरिरहेको छ । एकातिर उपमहानगर आफैले बुटवलमा मानिसहरूलाई बस्नका लागि प्रेरित गरिरहेको छ भने अर्कोतर्फ बुटवल पश्चिम नेपालकै मूल ढोका भएकाले सुरक्षा चुनौती पनि थपिएकै छ ।

यो कुरा प्रहरी अधिकारीहरूले नै स्वीकार गर्छन् । तर, यहाँ एक पटक जडान गरिएको सिसिटिभी क्यामेराको नियमित अपडेट र मर्मत हुन नसक्दा बेला बेलामा समस्या आउने गरेको व्यवसायीहरूको भनाई छ । बुटवलमा जडान गरिएका सिसिटिभी क्यामेरा अपडेट हुन नसकेको बताउँछ बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराई । 

जडान गरेपछि नियमित अपडेट गर्ने, मर्मत गर्ने र स्वामित्व लिने निकायमै अलमल भएको उनको बुझाइ छ ।‘औद्योगिक प्रतिष्ठानहरूले पनि बेलाबेलामा सिसिटिभी जडान गरिरहेका हुन्छौँ’ उनले भने –‘मनिटरिङ गर्ने निकाय नहुँदा लगानीको सदुपयोग भइरहेको छैन ।’ उनले बजार क्षेत्रमा सिसिटिभी मात्रै राख्दा पनि चोरी हुने र लगानीको सुरक्षा हुने बताए । केही वर्ष पहिला सिसिटिभी क्यामेरा नहुँदा करोडौँको चोरी हुँदा अनुसन्धान प्रभावित भएको उनले बताए ।

‘२ वर्षयता बुटवलमा चोरीका घटना कम भएका छन् तर फाट फुट्ट भएका पसलमा चोरी, मोटरसाइकल वा घरमा हुने चोरी डकैतीका घटनामा सिसिटिभी नहुँदा समस्या आएको छ’ उनले भने । 

पछिल्लो समय राजमार्ग क्षेत्रमै सिसिटिभी जडान कमजोर देखिएको हो । विभिन्न कार्यालय, व्यापारिक निकायहरूले सिसिटिभी राखेका कारण प्रहरीलाई अनुसन्धानमा सहयोग पुगेको छ । तर, प्रहरीको कन्ट्रोलमै सिसिटिभी जडान हुनुपर्ने आवाज उठिरहेको छ । यही आवाजलाई प्रहरीले पनि नजरअन्दाज भने नगरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाको भनाई छ ।

‘सिसिटिभी उपमहानगरले जोडेकाले काम पनि गर्छ’ उनले भने –‘अब एएनपिआर (स्वचालित नम्बर प्लेट पहिचान)  क्यामेरा आवश्यक छ।’ उनले एएनपिआर क्यामेरा महँगो पर्ने भएकाले बजेटका लागि स्थानीय सरकारसँग छलफल समेत भइरहेको बताए । ‘सिसिटिभीको निगरानी बढाउनुपर्छ, अब एएनपिआर क्यामेरा जडान गरेर काठमाडौँ कै हाराहारीमा सुरक्षा दिने तयारीमा छौँ ।’ – सञ्चारीका फिचर 


 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update