Lumbini Rise
सञ्चारगृहमा लैंगिक समानता सुनिश्चिताबारे बुटवलमा छलफल

बुटवल - सञ्चार क्षेत्रभित्र लैङ्गिक र सामाजिक समावेशीकरणको अभाव रहँदै आएको सन्दर्भमा, सञ्चारीका समूह नेपालले सबै सञ्चार गृहहरूमा स्पष्ट र प्रभावकारी लैङ्गिक नीति बनाउन आग्रह गरेको छ।

बुधवार बुटवलमा आयोजित अन्तर संवाद कार्यक्रममा समूहले सञ्चार गृहलाई लैङ्गिक समानता, सामाजिक न्याय र सबै लिङ्ग, जाति तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्‍यो।

सञ्चारीका समूहका अध्यक्ष कमला पन्थीले सञ्चार गृहमा लैंगिकमैत्री नीति बनाउनु महिला मात्रका लागि नभई पुरुष, तेस्रो लिङ्गी तथा विविध सामाजिक पृष्ठभूमिका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम भएको बताइन्। कार्यक्रममा सहभागी सञ्चार अभियन्ता, सम्पादक, पत्रकार महासंघका प्रतिनिधि र सञ्चार सम्बद्ध सङ्घसंस्थाका व्यक्तिहरूले समेत सञ्चार क्षेत्रमा लैङ्गिक समावेशिता संस्थागत गर्न नीतिगत पहल आवश्यक रहेकोमा सहमति जनाए।

लुम्बिनी सञ्चार समन्वय परिषद्का अध्यक्ष मिलन गाहले संविधानको मर्म अनुसार सञ्चार गृहहरूले लैङ्गिक समानता कार्यान्वयन गर्नुपर्ने बताए। अर्का सञ्चारकर्मी नवराज कुँवरले व्यवहारमा लैंगिकमैत्री प्रयास गरिए पनि औपचारिक नीति नहुनु कमजोरी भएको स्वीकार गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्य, महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार,  महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, राष्ट्रिय टेलिभिजन प्रसारक संघका केन्द्रीय उपाध्यक्ष विष्णु भुसाल,राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका अध्यक्ष गोपाल ज्ञवाली,  पत्रकारहरू माया केसी, उर्मिला यादव, डोल्मा चौधरी, निरा गौतमलगायतले मिडियामा भोगेका लैङ्गिक असमानता, कार्यस्थलमा चुनौती र सकारात्मक प्रयासबारे अनुभव साझा गरे। प्रतिष्ठा थापाले सञ्चार गृहमा भौतिक पूर्वाधार, सामग्री निर्माण प्रक्रिया र कार्य वातावरण तीनै तहमा समावेशिता कायम भएमा यसको दीर्घकालीन लाभ सञ्चार माध्यमलाई नै हुने उल्लेख गरिन्।

सञ्चारीका समूहले पत्रकार महिलाको सुरक्षा, समान तलब, मातृत्व बिदा, जोखिम व्यवस्थापनका संयन्त्र स्थापना, पत्रकार महिलाको पेसागत स्थायित्व, तथा सरकारी नियुक्तिमा प्राथमिकता सुनिश्चित गर्नुपर्ने माग राख्दै नीति निर्माणका लागि निरन्तर पैरवी गरिरहेको जानकारी गराइएको छ। यसले सञ्चार क्षेत्रमा मात्र होइन, समग्र समाजमा लैङ्गिक समानता र समावेशिताको जग मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update