-1742818169.jpg)
भैरहवा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार भएका तीन खेलमा गण्डकी प्रदेश, नेपाल एपीएफ क्लब र बागमती प्रदेश विजयी भएका छन् । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अर्जुन कुमालको शतक प्रहारबीच गण्डकीले सुपरओभर खेलेर मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशविरुद्धको खेलमा अर्जुनले शतक प्रहार गरेका हुन् । उनले १०६ रन बनाए । १४० बल खेलेका अर्जुनले १० चौका र १ छक्का प्रहार गरे ।
जारी प्रतियोगितामा यो चौथो शतक हो । यसअघि सुदूरपश्चिमक किरण ठगुन्नाले दुई शतक प्रहार गर्दा त्रिभुवन आर्मी क्लबका तृतराज दासले शतक प्रहार गरेका थिए । अर्जुनले शतक प्रहार गरे पनि गण्डकीले जित निकाल्न सुपर ओभर कुर्नु पर्यो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको गण्डकीले २२ रन बनाउँदा मधेशले ९ रन मात्र जोड्न सक्यो ।
गण्डकीका लागि अर्जुन बाहेक अरु ब्याटरले उल्लेख योगदान गर्न सकेनन् । गण्डकीलाई जितका लागि अन्तिम बलमा दुई रन चाहिएको थियो । बलिङमा मधेशका विशाल पटेल थिए । ब्याटिङमा गण्डकी सन्दीप पराजुली थिए । अन्तिम विकेट बाँकी रहेको अवस्थामा विशालले वाइड फ्याँक्दा स्कोर बराबरी भएको थियो । तर, रनका लागि दौडिदा सन्दीप रनआउट हुँद गण्डकी अलआउट भयो र उसले मधेशले जति नै २४६ रन जोड्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ७ विकेटको क्षतिमा २४६ रन जोड्यो । मधेशका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर रोहन विकले ६४, हरिशंकर साहले ५१ र रुपेश सिंहले ३२ बलमा नटआउट ५१ रन बनाए ।
बलिङमा गण्डकीका विपिन खत्री र कमल परियारले २–२ विकेट लिन सफल भए । आज जित हात पारेसँगै गण्डीकले पुछारको स्थान छाड्न सफल भयो । उसले सबै खेल खेल्दा ४ अंक जोड्यो । अन्तिम दुई खेल बाँकी छदा मधेशको पनि ४ अंक छ ।
यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै फाइनलको सम्भावना केही बलियो बनाएको छ । अंक तालिकाको तेस्रो स्थानमा रहेको एपीएफले अन्तिम खेलअघि १२ अंक जोडेको छ । दुई खेल खेल्न बाँकी रहेको शीर्ष स्थानको नेपाल पुलिस क्लबको १४ अंक र एक खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ ।
अन्तिम खेलमा आर्मीले पुलिससँग खेल्नेछ । अन्तिम खेलमा आर्मी पराजित भएर एपीएफले कोशी प्रदेशलाई हराए एपीएफको फाइनल सम्भावना बलियो हुनेछ । पुलिसका लागि भने कर्णाली र पुलिसमध्ये एक खेल जिते फाइनल पक्का हुनेछ । यससँगै एपीएफसँगै आर्मी र पुलिसको पनि शीर्ष चार स्थान भने पक्का भएको छ । सोमबार लुम्बिनीले दिएको २२४ रनको लक्ष्य एपीएफले ४१.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफक कप्तान रोहितकुमार पौडेलले ७१ रन र पुरन विकले नटआउट ७२ रन बनाए । बलिङमा लुम्बिनीका राजेन्द्र बलमे ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गर्दै लुम्बिनीले कप्तान देव खनालको ६३ र मिर्नाल गुरुङको ५५ रनको मद्दतमा ८ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । बलिङमा एपीएफका अभिषेश गौतम र अमरसिंह रौटेलाले ३–३ तथा मौसम ढकालले २ विकेट हात पारे ।
यस्तै, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ । बागमतीले ५९ रनको लक्ष्य ६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । टोलीका ओपनर आशुतोष घिरइया १९ र शुभ कंसाकारले १६ नटआउट रहे । अर्का ओपनर इशान पाण्डेले सर्वाधिक २२ रन जोडे । त्यसअघि रिजन ढकाल र सूर्य तामाङले ९ विकेट लिएपछि कर्णाली १९.१ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो ।
कर्णालीले टस जितेर ब्याटिङ रोजेको थियो । रिजनले ८.१ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए । सूर्यले ७ ओभरमा २ मेडन राखेर १७ रन दिँदै ४ विकेट हात पारे । रिजन प्लेयर अफ दि म्याच घोषित भए । कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुवै टोली पिएम कपको फाइनल दौडबाट बाहिरिसकेको छन् । बागमती ८ खेलमा चौथो जितपछि ८ अंकसहित तालिकाको चौथो स्थानमा छ । समान खेलमा समान अंकसहित कर्णाली पाँचौं स्थानमा छ ।