
बुटवल – अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । पुस्तकमा नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको छ ।
नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्थाबारे लेखिएको पुस्तकले पाठकलाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ । पुस्तकले नेपालको आर्थिक विकासमा बाधक बनेका संरचनात्मक समस्याहरू, न्यून उत्पादकत्व, र नीतिगत कमजोरीहरूलाई गहिरो रूपमा केलाएको छ ।
इन्डिगो इन्क प्रकाशनगृहद्वारा प्रकाशित यो पुस्तकको मूल्य ६९९ रुपैयाँ तोकिएको छ । अर्थदृष्टि कार्कीको दोस्रो पुस्तक हो । यसअघि उनको ‘वैकल्पिक अर्थतन्त्र’ नामक किताब प्रकाशित भइसकेको छ, जसले नेपालको आर्थिक नीतिका वैकल्पिक दृष्टिकोणहरूबारे चर्चा गरेको थियो । ‘अर्थदृष्टि’ ले भने नेपालको आर्थिक इतिहासको पुनरावृत्ति गर्दै नेपाली समाज र अर्थतन्त्रको ऐतिहासिक चरित्र उजागर गरेको छ । त्यसैगरी अर्थतन्त्रको वर्तमान अवस्था र जटिलतालाई प्रकाश पार्दै मुलुकको अल्पविकासका कारणहरु खोतल्ने प्रयत्न गरेको छ ।
कार्कीले पुस्तकमा २१ औं शताब्दीको उदयसँगै विश्व–अर्थराजनीतिमा देखापरेको पुँजीवादी संकटको अवस्थाको विस्तृत विवेचना र बढ्दो आर्थिक असमानताका विभिन्न पक्षहरुमा दृष्टि दिँदै असमानतालाई नेपालको राजनीतिक र सामाजिक सन्दर्भसँग जोडेर विश्लेषण प्रस्तुत गरेका छन् ।
त्यस्तै उनले अहिलेको अल्पविकास, बेरोजगारी, न्यून उत्पादन र अधिक उपभोगको दुष्चक्रममा फस्दै गएको नेपाली अर्थतन्त्रलाई अगाडि बढाउन आवश्यक वैकल्पिक अर्थतन्त्रको आवश्यकतामाथि चर्चा गरेका छन् । अर्थदृष्टि पुस्तकको काठमाडौंमा विमोचन गरियो भने शनिबार मात्रै बुटवलमा विमर्श गरिएको छ ।