Lumbini Rise
फिल्म हलका दु:ख :  चलचित्रकाे बर्षा, दर्शककाे खडेरी
नमूना स्केच

 

बुटवल - आजभन्दा ३६ वर्षअघि बुटवलबाट झन्डै ४० किलोमिटर टाढा रुद्रपुरबाट बुटवलसम्म  फिल्म हेर्नकै लागि साइकल कुदाउँदै आउँथेँ दीपक विश्वकर्मा । त्यतिखेर हलमा चलचित्र फेरिनासाथ दीपक साथीलाई साइकलमा बोकेर बुटवलमा फिल्म हेर्न आइपुग्थेँ । ‘बडो मुस्किलले ५ रुपैयाँ जुटाएर फिल्म हेर्न आउँथेँ’ दीपकले भने ।

दीपक मात्रै होइन २०४१/२०४२ सालतिर बुटवलका चलचित्र हलमा खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो । एक प्रकारले भन्दा त्यतिखेर फिल्म हेर्नेहरूले आफूलाई संसार जितेजस्तो ठान्थेँ । फिल्म हेर्न गाउँबाट आएकाहरूको बजार लाग्थ्यो । टिकट नपाएर ब्ल्याकमा किन्नु पर्थ्यो ।

यो क्रम २०५२ सालसम्म रह्यो । तर, अहिले भने चलचित्र हलसम्म पुग्ने दर्शकको सङ्ख्या भने घट्दै गएको छ । २०५२ सालसम्म हलसम्म पुगेर फिल्म हेर्नेहरूको तछाड मछाड हुन्थ्यो । तर, त्यसपछि हल धाउनेहरूको सङ्ख्या क्रमशः कम हुँदै गएको छ ।  यतिसम्म की कुनै दिन त फिल्म हल खाली नै हुन्छ । दैनिक फिल्म चल्ने सो नै बन्द समेत गरेर बस्नु पर्ने अवस्था छ ।  चलचित्र हलको खर्चले कर्मचारीहरूको तलब समेत धान्न हम्मे हम्मे हुन थालेको छ ।

‘पहिले सबै सिट भरिभराउ हुन्थे सिट भरिएपछि बेन्चमा राखेर समेत फिल्म देखाउनुपर्थ्यो’ मिलन चलचित्र हलका सञ्चालक कृष्ण पाठक भन्छन् –‘अहिले त २० जना दर्शक भए खुसी हुनुपर्छ ।’ उनका अनुसार कहिले काहीँ त हल नै खाली पनि राख्नुपरेको छ । १५ बर्षअघिसम्म पनि फिल्म हलमा दर्शकको भिडभाड हुने गरेकोमा पछिल्ला केही वर्षयता अनपेक्षित रूपमा दर्शक घटेका छन् ।

केही नयाँ प्याटनका फिल्महरू आएमा दर्शक आए पनि सदाबहार हलमा आउने दर्शक घटेको सञ्चालक पाठकको भनाई छ ।  ४० देखि ५० सालसम्म जस्तोसुकै चलचित्रले पनि हप्तौँ दिनसम्म चल्ने गरेकोमा अहिले पाँच दिन पनि  टिकाउन मुस्किल हुने उनले सुनाए ।

कुनै समय के वृद्ध, के वालक सबैले नेपाली हिन्दी फिल्म हेर्थे । अहिले भने ३० वर्षमुनिका मात्रै दर्शकहरू आउने गरेको पाठकले बताए ।  तुलसी घिमिरेको दर्पण छाया शिव श्रेष्ठको ठुल्दाई जस्ता चलचित्र चल्दा बुटवलका हलमा जात्रै थियो । त्यतिखेर यी चलचित्र ५१ दिनसम्म चल्दा दर्शकको कमी थिएन । आजभोलि त हलका सञ्चालकहरूलाई  फिल्म हल चल्नका लागी विशेष दिन नै पर्खनु पर्ने अवस्था छ , नयाँ वर्ष, तिज, दसैँ, तिहार, छठ, प्रणय दिवस, ल्होसार जस्ता मेला महोत्सव तथा उत्सवमा मात्रै हलमा दर्शक आउँछन् ।

फर्साटिकर, रुद्रपुर ,सुर्यपुरा, देबदह, मानपकडी लगायत ठाउँबाट चलचित्र हेर्न आउनेहरूको लर्को नै लाग्ने गरेको बताउँछन् पाठक ।  ‘दर्शकको रुचि र स्तर पनि बढ्यो, प्रविधिमा आएको परिवर्तनले पनि हलसम्म दर्शक आउन कमी भएको हो’ ।

अहिले धेरैजसो हलहरूलाई खर्च धान्न समेत निकै मुस्किल परेको छ । मिलन चलचित्र हलमा वाल्कोनीको ३ सय  र स्पेसलको चार सय ५० गरी ७ सय ५० जना अट्न सक्ने क्षमता छ ।  चलचित्र राम्रो सँग चलेर सबै सिट फुल भएमा हलले दैनिक एक सो मै करिब १ लाख रुपैयाँको  व्यापार गर्छ । पाँच रुपैयाँको नर्मल टिकट बढेर एक सय रुपैयाँ पुगेको छ  । दश रुपैयाँको स्पेसल टिकट बढेर दुई सय रुपैयाँ बनेको छ ।   टिकटको मूल्य बढ्दै जाँदा हलको आम्दानी भने घट्दो छ ।

दैनिक आम्दानी पाँच हजार पनि हुन मुस्किल पर्छ । चलचित्र लगाएपछि चलचित्रलाई पनि दिनुपर्छ । कर्मचारीलाई तलब चिया खर्च गर्दा पैसा बच्न निकै मुस्किल पर्ने मिलन चलचित्र हलका म्यानेजर कमल पाठकले बताए । चलचित्र हलमा कुनै समय निकै भिडभाड हुने गर्दथ्यो । चलचित्र  दोहर्‍याएर हेर्न आउने त निकै धेरै हुने गर्दथेँ  । बिहानी सो हेरेपछि पुन टिकट काटेर दिवा सो हेर्नेहरू त निकै धेरै हुन्थेँ  ।

चलचित्र आधा भाग पुगिसक्दा पनि टिकट काट्न दर्शकहरू लाइनमा बस्थेँ । मिलन चलचित्र हलका म्यानेजर कमल पाठकले भने । टिकट घरसम्म टिकट काट्ने कर्मचारी लुकेर आउनु परेको अनुभव सुनाउँछन् उनी । तर आजभोलि भने हलको खर्च धान्न समेत धौ धौ भएको उनले बताए ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update