
हरेक वर्ष जुन २६ मा मनाइने लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसले केवल एक दिनको औपचारिकता होइन, समाजमा मौनरूपमा फैलिँदो संकटबारे चेतावनी दिन्छ। नेपालमा पछिल्लो समय लागू औषध दुर्व्यसनको समस्या तीव्र गतिमा बढ्दो छ। विशेषतः युवा पुस्ता यसको प्रत्यक्ष सिकार बन्दै गइरहेका छन्।
यो संकटको केन्द्रमा खुला सिमानाको दुरुपयोग, बेरोजगारी, मानसिक असन्तुलन, सामाजिक उपेक्षा र कमजोर नीतिगत संरचना रहेका छन्। तर त्यसमा पनि सबैभन्दा खतरनाक पक्ष हो—नेपाल–भारतको खुला सिमाना, जसले लागू औषध तस्करीलाई सहज बनाइदिएको छ।
कसरी फस्छन् युवाहरू?
किशोरावस्था र युवावस्था संवेदनशील चरण हो। यो उमेरमा उनीहरू सामाजिक, भावनात्मक र मानसिक रूपमा अस्थिर हुने गर्छन्। साथीहरूको प्रभाव, कौतुहलता, र प्रचार माध्यममा देखाइने 'ग्ल्यामराइज्ड' जीवनशैलीका कारण उनीहरू लागूऔषधप्रति आकर्षित हुने गर्छन्।
खुला सिमानाबाट सस्तो मूल्यमा लागू औषध सहजै उपलब्ध हुने अवस्था छ। तस्करहरूको जालो सहरदेखि गाउँसम्म फैलिएको छ। विद्यालय र कलेजजस्ता शैक्षिक संस्थाहरू यसको प्रभावको मुख्य क्षेत्र बन्न थालेका छन्। यसैका कारण धेरैजसो युवाहरू ‘एक पटक’ प्रयोग गर्ने सोचले सुरु गर्छन्, र क्रमशः लतमा फस्दै जान्छन्।
अर्कोतर्फ, मानसिक तनाव, पारिवारिक विखण्डन, बेरोजगारी र भविष्यप्रति अनिश्चितता बोकेका युवाहरू लागूऔषधलाई तनाव व्यवस्थापनको विकल्पको रूपमा प्रयोग गर्न थाल्छन्। दुर्भाग्यवश, यस्तो विकल्प क्षणिक राहत मात्र दिन्छ, तर दीर्घकालीन विनाश निम्त्याउँछ।
दलदलबाट कसरी निकाल्ने?
दुर्व्यसनमा फसेको युवा जनशक्ति निष्क्रिय होइन, सजग हस्तक्षेप, सही परामर्श र पुनः स्थापनाबाट फेरि जीवनको मूल धारमा फर्किन सक्छ।
सबभन्दा पहिले, सीमा सुरक्षामा कडाइ गर्नुपर्छ। आधुनिक प्रविधिको प्रयोग, निगरानी सशक्त पार्ने रणनीति, र अन्तरदेशीय सहकार्य आवश्यक छ। लागू औषध तस्करीको जरा छिनाल्न सीमा नियन्त्रण पहिलो प्राथमिकता हुनुपर्छ।
त्यसपछि, शिक्षा र चेतनामूलक कार्यक्रम हर तहमा सशक्त बनाइनुपर्छ। विद्यालय र कलेजमा लागूऔषधविरुद्धको शिक्षा अनिवार्य गरिनुपर्छ। युवाहरूलाई निर्णय क्षमता, आत्म-संयम, र 'नाइँ' भन्न सक्ने सीप सिकाउनुपर्छ।
तेस्रो, गुणस्तरीय उपचार र पुनर्स्थापना केन्द्रहरूको पहुँच वृद्धि आवश्यक छ। औषधोपचारसँगै मनोपरामर्श, ध्यान, योग, सीप तालिम र रोजगारपरक कार्यक्रम समावेश गरिनुपर्छ। उपचारपछि समाजमा फर्कने युवाहरूलाई बहिष्कृत होइन, अपनत्व दिने माहौल बनाइनुपर्छ।
अन्ततः रोजगारी र सकारात्मक संलग्नता युवाहरूलाई पुनः लटको बाटोमा जानबाट रोक्न सक्ने सबैभन्दा बलियो उपाय हो। स्वरोजगार, सीप विकास, उद्यमशीलता र सिर्जनात्मक कार्यक्रममार्फत युवालाई सशक्त बनाउन सकिन्छ।
अन्त्यमा
लागूपदार्थ दुर्व्यसन नेपालको भविष्यसँग जोडिएको संकट हो। यसको समाधान बहु आयामिक र समन्वित हुनुपर्छ। सरकार, स्थानीय निकाय, शिक्षण संस्था, अभिभावक र समुदाय सबैले यो विषयलाई प्राथमिकतामा राख्नुपर्छ।
युवाहरूमा अपार सम्भावना हुन्छ। उनीहरूलाई दोष होइन, दिशा दिनुपर्छ। 'लत' हटाएर 'लक्ष्य' देखाउने हो भने उनीहरू फेरि उठ्न सक्छन्, फेरि बाँच्न सक्छन्।
समाजले उनीहरूलाई दोषी होइन, पीडितका रूपमा हेरेर साथ दिन सके मात्र हामी सुरक्षित, समुन्नत र सम्भावनायुक्त भोलिको निर्माण गर्न सक्षम हुनेछौँ।
*लेखक अर्याल पेशागत रूपमा संचारकर्मी तथा अनुभवी भाषणकला प्रशिक्षक हुनुहुन्छ ।