Lumbini Rise
ससाना संस्थामा ठुला दलको हार: आक्रोश मात्रै की परितवर्तनकाे संकेत? 

बुटवल -  रुपन्देहीमा पछिल्लो पटक भएका निर्वाचनले ठुला र सत्तासीन दलहरूप्रति वितृष्णा बढेको प्रस्ट सङ्केत दिएको छ। विद्यालय, टोल विकास समिति, खानेपानी संस्थानहरूका साना निर्वाचनमा काँग्रेस एमाले जस्ता ठुला दल निकटका व्यक्तिहरूले हार व्यहोरेका छन् ।

सामान्यतया विद्यालयको व्यवस्थापन समितिमा  अभिभावकहरूबिच प्रतिस्पर्धा हुने हो । टोल विकास समितिमा टोलमा बस्ने बासिन्दाहरू अनि खानेपानी, वन वा यस्तै समितिमा उपभोक्ताहरूबिच । तर, यी स्वतन्त्र रहनुपर्ने ठाउँमा समेत दलीय हस्तक्षेप हुन थालेपछि नागरिकहरूले त्यसलाई अस्वीकार गरिदिएका छन् । कतै स्वतन्त्र उम्मेदवारले जितेका छन् त कतै पुराना दलहरूलाई हराएर नयाँ दल निकटकाहरुले जित निकालेका छन् । 

शनिवार रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ स्थित मिलन टोल विकास संस्थाको निर्वाचन दलहरूकै प्रतिष्ठा जस्तो बन्यो । टोल विकास समिति भनेको टोल विकासमा एकजुट भएर लाग्ने संस्था हो । तर, यहाँ भने सत्तारुढ दल काँग्रेस–एमालेले महागठबन्धन गरे । त्यसलाई चुनौती दिन नयाँ भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिम बन्यो । तर, परिणाम काँग्रेस एमालेको पराजय ।

आश्चर्यको कुरा त यो रह्यो की तिलोत्तमा–८ नेपाली काँग्रेस जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेको वडा हो । यति मात्रै होइन काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणको वडा पनि ।

सत्तारुढ दलका प्रभावशाली नेताहरूको वडामा भएको टोल विकास समितिको निर्वाचनमा  १५ सदस्यमध्ये ४ पदाधिकारीसहित ८ सिटमा रास्वपाका उम्मेदवार विजयी भए । एमालेका ३ जना, काँग्रेसका २ जना र रास्वपा कै प्यानलबाट राप्रपाका दुई जना विजयी भए।

२ सय ७२ घरधुरी रहेको टोलमा २ सय ३३ मत खसेको थियो । अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले १ सय २४ मत ल्याएर निर्वाचित भए । प्रतिस्पर्धी एमालेका एमालेका कृष्ण चापागाईँले १ सय मत मात्र प्राप्त गरे । उपाध्यक्षमा रास्वपाका पर्सुराम काफ्लेले १ सय ४५ मत प्राप्त गर्दा काङ्ग्रेसकी रिना बरालले ८१ मत प्राप्त गरेर हार भोगिन्। 

त्यस्तै सचिवमा रास्वपा कै सीता तिवारी १ सय १९ मत र काँग्रेसका थम्मन गुरुङले १ सय ५ मत ल्याए थिए । कोषाध्यक्षमा रास्वपाका प्रतीक पाण्डेले १ सय २६ मत ल्याएर विजयी बन्दा एमालेकी बबी चापागाईँले ९८ मत ल्याइन ।

गत साता अर्थात् असार २२ गते सम्पन्न भएको बुटवल स्थित कान्ति माध्यमिक विद्यालयको निर्वाचन दलहरूले आम निर्वाचन जस्तै बनाए ।

दलीय प्रतिष्ठाको विषय मात्रै बनेनन्, नेतृत्व हुत्त्याउनका लागि लामो समयसम्म निर्वाचन समेत हुन दिएनन् दलहरूले । तर, विद्यालय व्यवस्थापन समितिमा दुई दशकसम्म कब्जा जमाएको नेकपा एमाले निकट अभिभावकहरू नराम्रोसँग पराजित हुन पुगे । निर्वाचनमा रास्वपा सहितको टिमले विजयी हासिल गरेर नयाँ रेकर्ड कायम गरेका छन् ।

४ सदस्यका लागि भएको निर्वाचनमा २ जना खुल्ला सदस्य तर्फ रामकृष्ण शर्मा (५१४),र मित्र गिरी (४८१) विजयी भए । सदस्यमा विजयी शर्मा नेकपा निकट र गिरी रास्वपा निकट हुन् । प्रतिस्पर्धामा उत्रेका नेकपा एमाले निकट होमनाथ पाण्डेले ३४५ र शिव आचार्यले ३५५ मत ल्याएर पराजित भए ।

यसै गरी महिला सदस्य २ जनामा पनि विपक्षी टिमबाट नेकपा माओवादी निकट कमला पन्थी ५८८ मतका साथ विजयी भएकी छन् । यस्तै अर्का महिला सदस्यमा नेपाली काँग्रेस निकट संगिता पोखरेल ५०१ मत सहित विजयी भइन् 

३ हजार ९७७ मतदाता रहे पनि एक १ हजार १४२ मत खसेको थियो । २०८१ वैशाख पहिलो साता नै विद्यालय व्यवस्थापन समितिको समय सकिएको भए पनि नेकपा एमाले र नेपाली काँग्रेसबिच कसले नेतृत्व गर्ने भन्ने विषयमा टकराब हुँदा झन्डै १५ महिनापछि निर्वाचन भएको थियो । 

२०८१ चैतमा सम्पन्न रुपन्देहीको तिलोत्तमा स्थित सङ्कर नगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनबोट) को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेले काँग्रेस–एमाले गठबन्धनका उम्मेदवार किरण खरेललाई पराजित गरे । ७७५ मतदाता मध्ये ६६१ मत खस्दा पाण्डेले ३६९ मत ल्याएर विजयी भए भने खरेलले २३४ र अर्की उम्मेदवार टिकादेवी आलेले ३९ मत पाइन् । 

यस्तै २०८१ फागुन २४ मा सम्पन्न नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा पनि स्वतन्त्र उम्मेदवारले ठुला भनिएका दलहरूलाई झन्डै पछारेको थियो । अध्यक्षमा काङ्ग्रेसकी मिना घर्ती (जिसी) ८१४ मतसहित विजयी हुँदा स्वतन्त्र उम्मेदवार बामदेव भुसालले ७५८ मत प्राप्त गरे।

बुटवल वडा नं. १२ र १३ का ४,७०६ मतदातामध्ये २,६०४ जनाले मतदान गरेका थिए। यस्तै २०८० फागुन पहिलो साता रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा काँग्रेस, एमालेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका थिए ।

२ हजार ४ सय मत खसेको चुनावमा क्षेत्रीका प्रतिस्पर्धी काँग्रेस–माओवादी–एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१ र नेकपा एमालेका नारायण थापाले ६२६ मत ल्याएका थिए । 

ठुला दलप्रति आक्रोश हो, जहाँ पनि दलीयकरण राम्रो होइन तः विश्लेषक

२ वर्षयता रुपन्देहीमा भएका खानेपानी, विद्यालय व्यवस्थापन समिति, वन तथा टोल विकास संस्थाहरूको निर्वाचनले ठुला भनिएका परम्परागत दलहरूप्रति जनमत खस्कँदै गएको देखाएको छ। एकातिर जनमत खस्कँदै मात्रै गएको छैन, नागरिकहरूले स्वतन्त्र मतको प्रयोग गर्न थालेको सन्देश पनि गएको छ ।

यी परिणामहरू राजनीतिक दलका पात्रहरूको व्यवहारका कारण उत्पन्न वितृष्णाको नतिजाका रूपमा लिन्छन् बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्ण प्रसाद पाण्डे । 

उनले वर्तमान राजनीतिक प्रणालीभित्रका पात्रहरूको व्यवहारले जनताले खोजेको विकल्प हुनसक्ने बताए ।‘सबै हिसाबले अहिलेको व्यवस्था नै ठिक छ, तर पात्रहरूका कारण गलत भाष्य निर्माण हुने खतराको सङ्केत पनि हो’ उनले भने ।

पछिल्लो समय विद्यालय, टोल विकास वा वन जस्ता संस्थाहरूमा ठुला भनिएका दलहरूको पराजय दलका नेताहरूको व्यवहार नै मुख्य कारक रहेको उनको भनाई छ ।‘गाडी राम्रो भएर भएन, ड्राइभर राम्रो हुनुपर्‍यो’ उपप्राध्यापक पाण्डेले भने –‘पात्रहरूले व्यवहार यस्तै भए परिणाम गलत हुनसक्छ।’    

त्यसो त टोल, वन, विद्यालय तथा खानेपानी जस्ता संस्थाहरूमा दलीयकरण हुनु नै दुर्भाग्य भएको ठान्छन् लेखक तथा विश्लेषक ऋषि आजाद । दलीय करणका विरुद्धको जनमतका रूपमा पनि पछिल्ला परिणामलाई लिन सकिने उनको भनाई छ । ‘रुपन्देहीमा देखिएका यी नतिजाहरू आक्रोशको परिणाम हो, यी अस्थायी हुन् तर स्थायी आक्रोशमा जान सक्छ’ उनले भने ।

उनले काँग्रेस, एमाले माओवादी लगायतका दलहरूले हरेक संस्थामा आफ्ना झोले कार्यकर्ता पठाउने प्रवृत्तिका कारण पनि जनताले विकल्प खोज्न थालेको बताए । ‘दलका झोलेहरू पठाउन थालेपछि त्यस विरुद्धको आक्रोशहरू संस्थाहरूमा देखिएको हो’उनले भने । 

उनले विद्यालयमा अभिभावकहरूबिच, वन तथा खानेपानी मा उपभोक्ता र टोलमा त्यहीका नागरिकहरूबिच प्रतिस्पर्धा हुनुपर्नेमा दलीय गठबन्धन हुनु नै राम्रो नभएको बताए ।

‘पुराना दलहरूले त गठबन्धन गरे नै, त्यसका विरुद्ध नयाँ भनिएकाहरूको पनि गठबन्धन राम्रो संस्कार होइन’ लेखक आजादले भने –‘विकृतिको अन्त्य गर्न, प्रवृत्तिको विरुद्ध जानुपर्नेमा पुनरावृत्ति भइरहेको छ ।’

उनले रास्वपा लगायतका नयाँ दलहरूले समेत पुरानै दलहरूको परम्परालाई समात्न खोजेकाले त्यो पनि समाधानको उपाय नहुने बताउँछन् । उनले आफ्नै गाउँ टोलका संस्थाहरूमा दलीय विभाजन समाजका लागि राम्रो नहुने बताए। 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update