बुटवल– बुटवलको मुख्य बजारमा छ, विद्यालय । वरपरका विद्यार्थीहरु झोला बोकेर नीजि बोर्डिङतर्फ जान्छन् । घरनजिकैको विद्यालयमा भर्ना हुन अभिभावक राजी हुँदैनन । नयाँ विद्यार्थी ल्याउनु त परको कुरा, भर्ना भएका विद्यार्थीलाई बर्षभरी टिकाउने पो कसरी ? आज भन्दा १५ वर्षअघि यस्तै दुरअवस्थामा थियो बुटवलको कान्ति मावि ।
विद्यार्थीको खोजीमा भौतारिनुपर्ने कान्तिले यो १५ बर्षमा काँचुली फेरेको छ । पहिले विद्यार्थी खोज्न शिक्षकहरु गाउँ गाउँ पुग्नुपर्थ्यो । अहिले अभिभावक, विद्यार्थीले विद्यालय खोज्दै यहाँ आउँछन । ‘२०६६ सालतिर बुटवल बजारका अभिभावकले नपत्याएर विद्यार्थी खोज्न पूर्वमा देवदह र पश्चिम सैनामैना, सालझन्डीसम्म पुग्नुपरेको थियो’ विगत सम्झँदै विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली भन्छन् –‘अहिले आएका विद्यार्थी भर्ना गर्न सकेका छैनौं ।’ शैक्षिक सत्र २०८१ मा भर्ना हुन आएका मध्ये २ हजार २ सय विद्यार्थी कान्तिले भर्ना गर्न नसकेर फिर्ता गरेको छ । शिक्षक, अभिभावकको चाहना हुने हो भने सामुदायिक विद्यालय नै पहिलो रोजाईँको विद्यालय बनाउन सकिन्छ भन्ने उदाहरण कान्तिलाई लिन सकिन्छ । शैक्षिक गुणस्तरमा सामुदायिक विद्यालय तर्फ कान्तिले नाम मात्रै कमाएन, कायापलट नै गरेको छ ।
२०६६ सालमा ३५० जना विद्यार्थी मुस्किलले अध्ययन गर्ने कान्तिमा २०८१ मा आइपुग्दा विद्यार्थी थेगीनसक्नु छ । विद्यार्थी भर्नाका लागि मन्त्री, सांसद, पालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी र समाजका प्रतिष्ठित व्यक्तिहरुबाट निकै दवाव आउने गरेको प्रधानाध्यापक ज्ञवालीले बताए । ‘हाम्रो भौतिक पूर्वाधार र जनशक्तिले थेग्दासम्म भर्ना लिन्छौं, नसकेपछि जतिसुकै ठूलो व्यक्तिले भनेपनि भर्ना गर्न सक्दैनौं’ उनले भने –‘अहिले कक्षा ३ सम्म प्रवेश परीक्षाविना भर्ना लिन्छौं, भर्ना गर्दा विद्यालय वरपरका स्थानीयहरुलाई नै प्राथमिकता दिएका छौं ।’
शैक्षिकसत्र २०८१ को भर्ना अनुसार यहाँ कक्षा १२ सम्म ५ हजार २ सय ८१ विद्यार्थी अध्ययनरत छन्। कुनै बेला कान्तिको नाम समेत सुन्न नचाहने अवस्थालाई कान्तिले चिरेको छ । शिक्षक, अभिभावकहरुको सामूहिक प्रयासले शिक्षामा गुणस्तरीयता कायम गरेर कान्ति रोज्ने र खोज्ने बनाएको ज्ञवालीले बताए । ज्ञवाली २०६६ साल पुसमा विद्यालयको प्रधानाध्यापक भएपछि विस्तारै विद्यालयले फड्को मारेको हो । विद्यालयप्रति आर्कषण बढाउन शिक्षकहरुले नै आफ्ना छोराछोरी विद्यालयमा भर्ना गरेर शैक्षिक सुधारको अभियान थालेका थिए । त्यसपछि अग्रेजी माध्यमको पढाई शुरुगरेसँगै विद्यार्थीको आर्कषण बढ्न थालेको प्रधानाध्यापक ज्ञवाली सम्झन्छन् । ‘अग्रेजी माध्यममा पढाउन थालेपछि संस्थागत विद्यालयबाट थ्रेट (धम्की) पनि आए, तत्तकालिन जिल्ला शिक्षा कार्यालयमा उजुरी पर्यो’ ज्ञवालीले भने –‘यी सबै चुनौतीको सामना गर्दै अघि बढियो, उदेश्य पवित्र भएपछि अभिभावकले साथ दिदै जानुभयो, आज यहाँसम्म आइपुगियो ।’ कान्तिले अहिले नेपालभरका सामुदायिक विद्यालयमा आफूलाई अब्बल सावित गरेको छ ।
शिक्षक कर्मचारी संख्या
– स्थायी : २१
– अस्थायी : ०३
– वालविकास : ०३ (अनुदान)
– सहायक कर्मचारी : ०१ (अनुदान)
– सहयोगी कर्मचारी : ०१ (अनुदान)
– शिक्षक/कर्मचारी : १८८ (विद्यालय स्रोत)
– जम्मा शिक्षक कर्मचारी : २१७ आधारभूत तह : २३२८
विद्यार्थी संख्या
कक्षा ९ : ६०८
कक्षा १० : ५७४
कक्षा ११ : ९५७
कक्षा १२ : ८१४
जम्मा : ५२८१
२०६८ सालको एसएसलसिमा ९१ प्रतिशत अंक सहित मदन पाण्डे सहित २७ जनाले डिस्ट्रिङसन ल्याएका थिए । त्यसयता यो विद्यालयले नतिजामा उत्कृष्टता कायम राख्दै आएको छ । अहिले शिशु कक्षादेखि कक्षा १२ सम्म अग्रेजी नेपाली दुवै माध्यममा पढाई हुन्छ ।
अभिभावकहरुले संस्थागत विद्यालयबाट कान्तिमा भर्ना गर्नका लागि लालायित हुन्छन् । बुटवलका पुस्तक व्यवसायी हेमानन्द शर्माले शैक्षिक गुणस्तर देखेरै छोराछोरी निजि बोर्डिङबाट कान्तिमा ल्याए । उनले आफ्नो छोराछोरी कान्तिमा ल्याएपछि विद्यालय व्यवस्थापनमा समेत सामेल भए । दुई कार्यकाल विद्यालय व्यवस्थपन समितिको अध्यक्षका भएर काम गरिसकेका शर्माले राजनीतिक आग्रह र पूर्वाग्रह विना सबै मिल्दा सामुदायिक विद्यालय बन्न सक्ने उदाहरण कान्ति मावि रहेको बताउँछन । ‘विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी र समाजका सबै पक्षको सहकार्यले विद्यालय बन्दोरहेछ’ उनले भने ।
झुप्रोदेखि महलसम्म
त्यसो त कान्ति मावि बुटवलकै पूरानो विद्यालय मध्येको एक हो । वि.सं. २००८ सालमा पुरानो बुटवलमा सुरु भएको गणेश विद्या भवन प्राइमरी स्कुल र खस्यौलीमा सुरु भएको जनता विद्या भवन प्राइमरी स्कुलको एकीकरण पश्चात वि.सं. २०१० साल पौष २ गते देखि “गणेश जनता विद्या भवन” प्राथमिक विद्यालयको नामबाट हालको कान्ति मा.वि.को सुुरुवात भएको हो । वि.सं. २०१६ सालमा मिडिल स्कुल र २०२६ सालमा हाइस्कुलको स्वीकृति प्राप्त गरेको यस विद्यालय २०२९ सालमा गणेश जनता माध्यमिक र २०३३ सालदेखि श्री ५ कान्ति मा.वि.को नामबाट सञ्चालन भएको थियो ।
२००८ सालको गणेशविद्याको झुप्रोदेखि अहिलेको बहुतले भवनसम्मको दृश्यले आफै आश्चर्यमा परेको बताउँछन् बुटवलका पूर्वउपप्रमुख बिमलबहादुर शाक्य ।‘म उमेरले ७४ बर्षको भए, मैलै कान्तिलाई शुरुदेखि देखेको छु’ उनले भने –‘अहिलेसम्म आइपुग्दा गुणस्तर र भवनमा उचाईँ प्राप्त गरेको छ।’ उनले कान्तिले समयक्रमसँगै आफूलाई रुपान्तरण गर्दै अघि बढेको बताउँछन ।
‘पहिले बुटवल माविमा विद्यार्थी धेरै थिए, पछि विस्तारै कान्तिले त्यसलाई ग्रहण गर्न थाल्यो, पछिल्लो दशकमा कान्तिले दु्रत रुपमा आफुलाई विकास गरेको देखेको छु’ बुटवलका जानकार समेत रहेका शाक्यले भने –‘कान्तिले अहिले बुटवलकै प्रतिष्ठा उचोँ बनाएको छ ।’ उनका अनुसार प्रारम्भसँग तुलना हुनै नसक्ने गरी विकास भएको छ । शैक्षिक गुणस्तर कायम राख्न शिक्षकहरुले महत्वपूर्ण योगदान गरेको समेत उनले बताए ।
२०६४ सालदेखि कक्षा ११/१२ सञ्चालन गरेको यस विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहका विभिन्न विषयहरुको पठन पाठन हुँदै आएको छ । यहाँ २०६५ सालदेखि खुला विद्यालय तर्फ कक्षा ८ र १० समेत सञ्चालनमा छन् । जसबाट विभिन्न कारणले नियमित विद्यालयको पहुँच बाहिर रहेका सयौं विद्यार्थीहरू लाभान्वित भएका छन् ।
वि.सं.२०१३ सालमा राजा महेन्द्रबाट विद्यालय भवन र २०७० सालमा प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट कान्ति मा.वि.को हीरक महोत्सवको समुद्घाटन भएको थियो भने विभिन्न समयमा रक्षा, शिक्षा, अर्थ, संस्कृती मन्त्री, सांसद, मेयर, उपमेयर, शिक्षा निर्देशक, शिक्षा अधिकारी, लगायतका व्यक्तिले विद्यालयका विभिन्न कार्यक्रममा सहभागी भएर हौसला थप्दै आएका छन ।
विगतको पूरानो र जीर्ण भवनलाई मर्मत र नयाँ भवन निर्माण गरेर विद्यालयलाई अहिले आर्कषक बनाइएको छ । हाल ६ वटा विद्यालय भवन रहेको छ । यसमा ४७ वटा कक्षाकोठा, कार्यालय प्रयोजनका लागि ६ र ५ वटा कोठा ल्याबका रुपमा प्रयोगमा आएको विद्यालयले जनाएको छ । बुटवल उपमहानगरपालिकाको कार्यालयसँग सटेर रहेको विद्यालय बुटवलको मुख्य बजार क्षेत्र हाटबजारलाईनमा छ ।
विद्यालयकोकरिव १.५ विगाहा क्षेत्रफलको खेल मैदान छ । चारैतिर पक्कि कम्पाउण्ड वाल गरिएको छ । प्रत्येक कक्षा कोठामा विद्यार्थीका लागि सहज हुने डेस्कबेञ्ज र शिक्षकका लागि टेवलको व्यवस्था गरिएको छ । शुद्धखानेपानी, छात्रछात्राका लागि अलग अलग सुविधा सम्पन्न शौचालय, नियमित विजलुीका लागि थ्री फेजको लाईन सहित जेनेरेटर, सोलार र इन्भटरसमेत जडान गरिएको छ ।
५ सय जना विद्यार्थीहरुलाई एकै पटकमा खाजा खान मिल्ने गरी अत्याधुनिक चमेनागृह विद्यालय हाताभित्रै छ । एक पटकमा एउटा कक्षाका ५० जना विद्यार्थीहरुलाई लैजान र प्रयोग गर्न मिल्ने गरी अलग अलग प्रयोगशाला छ । भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान प्रयोगशाला र सामग्रीको व्यवस्थापन गरिएको छ । यस्तै ५० जना विद्यार्थीहरुलाई एकैपटकमा प्राक्टिल गर्ने मिल्ने गरी कम्प्युटर र हाइस्पिड केवल इन्टरनेट सुविधा सहितको कम्प्यूटर ल्याव कान्तिमा छ ।
विद्यालय श्रोतबाटै जनशक्ति व्यवस्थापन
विद्यार्थीको संख्या प्रत्येक वर्ष थेगिनसक्नु छ । बर्षेनी २ हजार बढि विद्यार्थी भर्ना गर्न नसकेर फिर्ता गर्नुपरेको विद्यालयको भनाई छ । विद्यार्थी संख्या अनुसार जनशक्ति व्यवस्थापन गर्नु विद्यालयको अर्को चुनौती हो । तर, गुणस्तर कायम गर्दै धेरै भन्दा धेरै विद्यार्थीलाई पढाउन विद्यालयले कोसिस गरेकै छ । ५ हजार २८१ विद्यार्थी रहेको कान्तिमा स्थायी दरबन्दी भने २१ जना मात्रै छ ।
अस्थायी दरबन्दी ३, बालविकास अनुदान ३, सहायक कर्मचारी र सहयोगी कर्मचारी अनुदानमा १/१ जनाको छ । यसबाहेक विद्यालय श्रोतबाट १८८ जना शिक्षक कर्मचारी राखिएको छ । विद्यालयको ठूलो श्रोत शिक्षक कर्मचारीमा खर्च हुने गरेको छ । अभिभावक सहयोग, विद्यालयको वरपर सटर वापतको भाडा र सरकारी अनुदानले विद्यालयले खर्च व्यवस्थापन गर्दै आएको छ ।
विद्यालयका प्रधानाध्यापक ज्ञवालीले विद्यार्थी अनुसार दरबन्दी कम भएकाले चाहेर पनि विद्यार्थी भर्ना लिन नसकिएको बताउँछन् । उनले विद्यालय श्रोतमा शिक्षकहरुलाई टिकाउन समेत चुनौती हुने भएकाले सरकारी दरबन्दी थप हुँदा सहज हुने बताए ।
त्यसो त पछिल्लो समय शिक्षक पेशा आर्कषण बन्न नसक्दा दक्ष जनशक्तिको आर्कषण कम हुँदै गएकाले यसले दीर्घकालिन असर पार्न सक्ने उनको चिन्ता छ । कान्तिको आम्दानीले ठूलो संख्याका शिक्षक/कर्मचारीको खर्च थेगिरहेको छ ।
बुटवल उपमहानगरपालिकाले आन्तरिक लेखा परीक्षण गर्दै आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा विद्यालयको आम्दानी खर्च १९ करोड ३५ हजार ७ सय ७७ रुपैयाँ रहेको विद्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० को २४ करोड ९ ४ लाख २२ हजार ५३८ रुपैयाँ तथा आ.व. २०८०/०८१ को २०८० मंसिर २२ गते सम्मको विद्यालयको आम्दानी खर्च १२ करोड ४ लाख ६५ हजार ८३८ रुपैयाँ रहेको छ ।
विद्यालयको भवन निर्माण र जनशक्ति व्यवस्थपनमा संघ, प्रदेश र स्थानीय सरकारहरुले सहयोग गर्दै आएका छन । मुख्य रुपमा विद्यालयले सरकार, अभिभावक, समाज, संघ संस्थाहरुबाटै श्रोतको व्यवस्थापन गर्ने गरेको हो । बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले कान्तिको शैक्षिक अवस्था सामुदायिक विद्यालयमा अब्बल रहेको बताए । उनले सामुदायिक विद्यालयका लागि उपमहानगरको तर्फबाट सहयोग भइरहेको समेत बताए ।
गुणस्तर कायम गर्न पञ्चबर्षिय योजनादेखि रचनात्मक अभ्यास
कान्ति मावि सामुदायिक विद्यालयमा नेपालकै नमूनामध्येमा पर्ने विद्यालय हो । यहाँ विद्यार्थीको संख्या प्रत्येक वर्ष बृद्धि हुँदै गएको छ । विद्यालयले विद्यार्थीको आर्कषणसँगै शैक्षिक गुणस्तर कायम गर्न विभिन्न विधिहरु अपनाएको देखिन्छ । विद्यालयले पञ्चबर्षिय लक्ष्य निर्धारण गर्नेदेखि विद्यालयले बार्षिक शैक्षिक क्यालेण्डर तय गरेर शिक्षण सिकाईलाई अघि बढाएको छ ।
बालविकासदेखि कक्षा १२ सम्म विद्यार्थी बृद्धिसँगै गुणस्तर कायम राख्न शिक्षक निर्देशिका र सन्दर्भ सामग्री व्यबस्था, शिक्षकलाई तालिम दिने, शिक्षण सामाग्रीको प्रयोग र पर्याप्ता गराउने सहित १६ वटा सूचक बनाएर विद्यालयले २०७८ देखि २०८२ सम्मको लक्ष्य निर्धारण गरेको छ ।
- *याे सामाग्री शिक्षा पत्रकार समूहकाे पुस्तकका लागि लेखिएकाे हाे, त्यही पुस्तकबाट साभार गरिएकाे जानकारी गराइन्छ ।*