Lumbini Rise
प्रथम मेयर कप विद्यालय क्रिकेट उपाधी  न्यू होराइजनले चुम्याे

बुटवल - प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि न्यू होराइजनले जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यू होराइजन मावि विजेता बन्दै उपाधि हात पारेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेको नरैनापुर क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको शुक्रवार फाइनलमा न्यु होराइजनले कान्ति माविलाई ७ विकेटले पराजित गर्दै नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कान्ति माविले नगद ३० हजार रुपैयाँ, कप, प्रमाणपत्र प्राप्त गरेको छ ।

यसै गरी प्रतियोगितामा न्यु होराइजनका अव्राहम अलि म्यान अफ द सिरिज तथा उत्कृष्ट बलर हुँदै ८ हजार र ५ हजार नगद पुरस्कारसहित मेडल तथा उत्कृष्ट ब्याट्सम्यान न्यु होराइजनकै सफल भट्टराई घोषित हुँदै ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ। प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) रुपन्देहीको प्राविधिक समन्वयमा सञ्चालन गरिएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको कान्तिले १४ ओभर २ बलमा मात्र ५८ रन बनाएर अलआउट हुन पुग्यो । जसमा १९ रन अतिरिक्त रहेको थियो । कान्तिका समीर विकले १२ तथा कृष्ण अधिकारीले १० रन बनाएका थिए भने अन्य व्याट्स म्यानले दोहोरो रन बनाउन सकेनन् । कान्तिका ४ व्याट्स म्यान शून्यमा आउट भएका थिए ।

कान्तिलाई सस्तोमा समेट्ने क्रममा न्यु होराइजनका अब्रहाम अलीले ४, अमिर अर्यालले २, रञ्जीत मौर्य, शुभम् खनाल र शुभम् पाण्डेले समान १–१ विकेट लिएका थिए ।

जितका लागि ५९ रनको लक्ष्य लिएर मैदान उत्रेको न्यु होराइजनले १० ओभर ३ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्याे। होराइजनका लागि ओपनर शुभम् अर्याल र सफल भट्टराईको जोडीले क्रमशः १४ र १६ रन बनाउँदै जितलाई सहज बनाएका थिए ।

 त्यसै गरी होराइजनका रञ्जित मौर्यले ७ वलमा नट आउट १७ र संगम पाण्डेले ८ रनको योगदान गरेका हुन् । कान्तिका समीर पोखरेल, विशाल मरासिनी र कृष्ण अधिकारीले समान १–१ विकेट लिएका थिए । होराइजनका अब्राहम अलि प्लेयर अफ दि म्याच भएका थिए ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रीदेवी अर्याल, प्रवक्ता शिव राना, खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठ, १६ का अध्यक्ष कृष्णप्रसाद पौडेल, खेल संयोजक सरोज सिंह क्षेत्रीलगायतले पुरस्कार वितरण गरे ।

सेमिफाइनलमा न्यु होराइजनले दीप बोर्डिङलाई १० विकेटले तथा कान्ति माविले नवीन उच्च माविलाई २० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

प्रतियोगितामा सामुदायिक १० र संस्थागत ७ गरी १७ टिमले सहभागिता जनाएका थिए । जसमा समूह एमा कालिका मावि, न्यु होराइजन मावि, गार्गी एकेडेमी, नवरत्न मावि, इन्टेलेक्चुअल एकेडेमी, दीप बोर्डिङ स्कुल, बुटवल इलिट, इडन इङ्लिस बोर्डिङ र गणेश ज्ञान ज्योति पब्लिक तथा समूह बिमा एभरेष्ट ईग्लिस बोर्डिङ स्कुल, बुटवल ग्लोरी, मोतीपुर मावि, कान्ति मावि, अमर मावि, नवीन औद्योगिक मावि, नयाँ गाउँ मावि र समिट इङ्लिस बोर्डिङलाई विभाजन गरी खेलाइएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update