Lumbini Rise
गृह प्रदेश लुम्बिनीमा अर्थमन्त्री पौडेलले कस्ता योजनामा बजेट छुट्टाए (हेर्नुहोस् योजना र बजेट)

बुटवल – अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना योजनाले निरन्तरता पाएका छन् ।  आर्थिक वर्ष ०८२/०८३ को बजेटमा अधिकांश अधुरा, बहुबर्षिय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेट छुट्टाइएको छ । लुम्बिनीका के कस्ता योजना परे यहाँ उल्लेख गरिएको छ ।

सिद्धार्थ राजमार्ग स्तरोन्नतिलाई बजेट

आर्थिक वर्ष २०८२/०८३ मा नाग ढुङ्गा,सिद्धबाबा र काठमाडौँ-तराईमधेश द्रुत मार्गमा पर्ने तीन वटा सुरुङ्ग मार्गको निर्माण सम्पन्न गरिनेछ। आगामी आवमा पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिएको बुटवल–पोखरा सडक (सिद्धार्थ राजमार्ग)लाई स्तरोन्नति गरिने  । मध्य पहाडी राजमार्गको रेखाङ्कन परिवर्तन गरिने । हुलाकी राजमार्ग दुई वर्ष भित्र सक्ने घोषणा । द्रुतमार्ग २०८३/८४ भित्र निर्माण गरिसक्ने ।

सिक्टा र वृहत् दाङ सिँचाइ आयोजनालाई ८ अर्ब

सरकारले सिक्टा सिँचाइ र वृहत् दाङ सिँचाइ परियोजनाका लागि ८ अर्ब ५० करोड रुपैयाँ बजेट घोषणा गरेको छ । भेरी बबई डाइभर्सन आयोजनाको हेड वर्क र पावर हाउस निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गरिने भएको छ । यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । सिँचाइ प्रणालीमा १ अर्ब ८२ करोड विनियोजन गरिएको छ ।

औद्योगिक क्षेत्रको निर्माण

बाँकेको नौ बस्ता, दाङको लक्ष्मीपुर, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोरर मकवानपुरको मयुरधापमा लगानी बोर्डमार्फत निजी क्षेत्रको सहभागितामा आधुनिक औद्योगिक क्षेत्रको निर्माण गरिनेछ। पाँचखाल र सिमरास्थित विशेष आर्थिक क्षेत्रलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गरिनेछ।

भैरहवाको एकीकृत जाँच चौकी

भैरहवाको एकीकृत जाँच चौकी र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। कञ्चनपुरको दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाइनेछ।  

पाल्पा र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण

पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिनेछ।अन्तर्राष्ट्रिय जगतबाट सक्षम अनुसन्धानकर्ता छनौट गरी रियर अर्थ मेटल्सको सम्भाव्यता अध्ययन गरिने छ।

उडानका लागि थप प्रोत्साहन र सहुलियत

नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइनेछ।

वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ। झापाको भद्रपुर, दाङको टरिगाऊँ र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिने छ।

नौतनवा-भैरहवा र नेपालगञ्जरोड-नेपालगन्ज जोड्ने रेलमार्ग

आगामी आर्थिक वर्षमा काठमाडौँ-केरूङ्ग रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ। सीमावर्ती दक्षिण नाकाका न्यू जलपाइ गुडी-काँकडभिट्टा, नौतनवा-भैरहवा र नेपालगञ्जरोड-नेपालगन्ज जोड्ने रेलमार्ग निर्माण कार्यको तयारी सुरु गरिनेछ।

दुम्कीबास-बर्दघाट, शिवपुर-भालुवाङ सुरुङ मार्गको सम्भाव्यता

अध्ययन सम्पन्न भएका सुरुङ मार्गहरू दुम्कीबास-बर्दघाट, खुर्कोट-चियाबारी, बबई-छिन्चु, मझिमटार-शक्तिखोर, हेम्जा-नयाँपुल,कुलेखानी-भिमफेदी र धरान-लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइनेछ। टोखा-छहरे,शिवपुर-भालुवाङ, रानीघाट-भुरिगाउँ,दोलालघाट-चर्नावती र हात्तीसार-बबई सुरुङ मार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ।

बुटवल धागो कारखाना

जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एन्ड म्याग्नेसाइट,हेटौडा र उदयपुर सिमेन्ट उद्योग लगायतका सार्वजनिक प्रतिष्ठानको विद्यमान अवस्था र व्यावसायिक सम्भाव्यताको अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गरिनेछ।

बुटवल-नारायणगढ सडक चार लेन

आगामी दुई वर्षभित्र पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा-लौकही, कमला-कञ्चनपुर, कमला-बागमती, बागमती-पथलैया, बुटवल-नारायणगढ, बुटवल-गोरुसिङ्गे खण्डको ४२२ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गरिनेछ। पूर्व पश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया खण्ड स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सुरु गरिनेछ। यसका लागि रु. २१ अर्ब १९ करोड विनियोजन गरेको छु।

नौमुरे सुरु, काली गण्डकी-तीनाउ नदी पथान्तरण

नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि लगानी सुनिश्चित गरी निर्माण कार्य प्रारम्भ गरिनेछ। कालीगण्डकी-तिनाँउ नदी पथान्तरण आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा यकिन गरिनेछ। तमोर-चिस्याङ्ग, सुनकोसी-तावा, त्रिशूली-लोथर,माडी-दाङ र ग्वारखोला बहुउद्देश्यीय आयोजनाको अध्ययन तथा तयारी कार्यलाई तीव्रता दिइनेछ। यसको लागि रु. ३७ करोड विनियोजन गरेको छु।

पाणिनि ज्ञान उद्यान निर्माण

नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्त्विक सम्पदाको संरक्षण गरिनेछ। अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनि ऋषिको स्मृतिमा पाणिनि ज्ञान उद्यान निर्माण गरिनेछ। ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका अभिलेखहरूको डिजिटल आर्काइभीङ् गर्न आवश्यक बजेट छुटाएको छु।

सिद्धार्थ क्रिकेट स्टेडियम निर्माण

काठमाडौँको मूल पानी क्रिकेट रङ्गशाला,मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला,कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि रु. ४२ करोड विनियोजन गरेको छु।

लुम्बिनी-मुक्तिनाथ पर्यटन पदमार्ग

निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या-पर्यटन पद मार्गहरूको विकास गरिनेछ।

शुक्लाफाँटा-खप्तड, बर्दिया-रारा, लुम्बिनी-मुक्तिनाथ, सौराहा-गोसाईँकुण्ड, जनकपुरधाम-कालिन्चोक, कोशीटप्पु-सगरमाथा र केचना-पाथीभरा पदयात्रा सञ्चालन गरिनेछ। त्यसै गरी खप्तड, रामारोशन, वडिमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथसम्मको पर्या-पर्यटन पदमार्ग विकास गरिनेछ।

बृहत् लुम्बिनी गुरुयोजना तयार

सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा,खप्तड लगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास गरिनेछ। लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न बृहत् लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिनेछ। स्वयम्भूनाथ, हनुमान ढोका, पशुपतिनाथ र बौद्धनाथ क्षेत्रमा सन्ध्याकालीन सम्पदा मार्ग विकास गरिनेछ।

कक्रहवा-सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक

रणनीतिक तथा व्यापारिक महत्त्वका तमोर कोरिडोर, दमक-चिसापानी सडक, भेरी कोरिडोर, डुम्रे-बेसी सहर-चामे कक्रहवा-सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक, शहीद मार्ग,रत्न राजमार्ग, राप्ती राजमार्ग ,खुटिया-दिपायल लगायतका सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेको छु ।काठमाडौँ चक्रपथको कलङ्की-वसुन्धरा-धोवीखोला सडक खण्डको स्तरोन्नति कार्यलाई निरन्तरता दिन रु.१ अर्ब २४ करोड विनियोजन गरेको छु। 

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update