
लुम्बिनी – माघ ११ गते शिलान्यास गरिएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि गोरुसिंगे सडक वन्यजन्तु र पैदलयात्रुमैत्री बनाउने गरी निर्माण शुरु भएको छ । नेपालकै राजमार्गमा नभएका पूर्वाधार राखेर तयार पारिएको डिजाईन अनुसार वातावरण, वन्यजन्तु र पैदल यात्रुमैत्री बन्ने भएको हो । बुटवलदेखि गोरुसिंगे ५० किमि सडकलाई चारदेखि ६ लेनसम्म बनाईनेछ ।
माघ ११ गते प्रधानमन्त्री केपि शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यस गरेको सडक स्तरउन्नतीको बुटवल गोरुसिंगे सडकखण्डको काम शुरु भइरहेको छ । अहिले बुटवल सतगढी १ मा पुल र कपिलबस्तुको वाणगंगा नदीमा को आधारभूत संरचना (फाउण्डेशन) को काम भइरहेको छ । यसैगर बुटवल सतगढी २ मा पनि केहीदिनमै फाउण्डेशनको काम शुरु गर्ने बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक आयोजना कार्यालयले जनाएको छ । सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार नेपाल कै राजमार्गहरुमा नभएका पूर्वाधारहरु यस सडकमा रहनेछन् । उनका अनुसार जंगलक्षेत्रमा वन्यजन्तु वारपार गर्नका लागि ३ वटा डेडिकेटेट सहित १९ वटा वारपार गर्ने ठाउँहरु राखिनेछ । रुपन्देही र कपिलबस्तुका जंगल क्षेत्रमा सडक पर्ने भएकाले त्यहाँका वन्यजन्तु सडकबाट आवातजावत गर्दा दुर्घटना हुने गरेकाले वन्यजन्तुमैत्री हुने गरी सडक संरचनाको डिजाईन गरिएको इञ्जिनियर न्यौपानेले बताईन ।
त्यसो त यो सडकका रूपन्देही र कपिलवस्तुमा मुख्य बजार क्षेत्रहरुमा सवारीसाधनहरुलाई वारपार गर्न मिल्ने गरी (भेचीकुलर अण्डरपास) संरचना बनाईनेछ । यो भनेको रुपन्देहीमा ५ र कपिलबस्तुमा एक वटा गरी बजारक्षेत्रमा सडकमा सवारीहरु क्रसिङ मार्फत हुनेछ । यस्तो सडकको पूर्वाधार काठमाडौंको ग्वार्कोमा मात्रै छ । ‘हाईवेमा यो नै पहिलो संरचना हुनेछ’ सडक योजना कार्यालयका इञ्जिनियर अशोक पौडेलले भने –‘स्तरीय सडक बनाउने गरी धमाधम काम भइरहेको छ ।’ उनका अनुसार राजमार्गमा ३० वटा पुलहरु बन्नेछन् ।
यसमध्ये पैदलयात्रुका लागि अण्डरपास १२ र ओभरहेड ११ वटा पुलहरु बन्नेछन् । यसैगरी सडकमा सवारी आवातजावतका लागि ६, वन्यजन्तु आवतजावतका लागि ३ वटा डेडिकेटेट सहित १९ वटा क्रसिंङ बन्नेछ ।
२ सेक्टरमा विभाजन गरी निर्माणको काम शुरु गरिएको हो । कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण गर्ने गरी २०८१ असार ११ गते सम्झौता भएको हो । चिनियाँ कम्पनी सान्ची कन्ट्रक्सन इञ्जिनियरिङ गुप्र र आशीष निर्माण सेवा नेपालले ३ बर्षमा सक्ने गरी निर्माण थालेको हो । बुटवल–कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी–गोरुसिंगे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सक्ने गरी सम्झौता भएको हो । यो सडक विस्तारका लागि विश्व बैंक ऋण दिएको हो ।
पचास किलोमिटर सडक अन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी–पिपरा र वनगाई–गोरुसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ । जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।
बुटवलतर्फ भने अधिकांश बजार र बस्ती क्षेत्र रहेको छ । बजार र बस्ती भएको क्षेत्रमा दुवैतर्फ सर्भिस लेनसहितको ६ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले बताईन । शहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति गरिएको हो । यो सडकखण्डको स्तरउन्नतीसँगै कपिलबस्तुबाट बुटवल बजार सजिलै जोडिनेछ ।
बुटवल नारायणगढमा जस्तो सास्ती नहुने
बुटवल नारायणगढ सडकखण्डका कारण पूर्वपश्चिम राजमार्गको यात्रा गर्ने यात्रुहरुले सास्ती पाइरहेको बेला बुटवलदेखि पश्चिमसम्म पनि निर्माण शुरु भएपछि यात्रुहरुले भने दुःख पाउने भन्दै आशंका गरेका छन् । विकास निर्माण शुरु भएको लामो समयसम्म पूरा नहुने भएपछि यात्रुले आशंका गर्नु स्वभाविक छ । यहि आशंकाका कारण बुटवलदेखि गोरुसिंगेको सडक स्तरउन्नतीमा यात्रुलाई सास्ती नहुने गरी निर्माण गर्न सरकारले निर्देशन दिएको छ । रुपन्देही क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल नारायणगढ सडकखण्डको अनुभवबाट पाठ सिक्दै पहिला दुवै साईडमा निर्माण गरेर मात्रै सडक भत्काउन निर्देशन दिएका छन् ।
अर्थमन्त्रीको निर्देशन जस्तै गरी एकतर्फको निर्माण गरेपछि मात्रै विचको सडकको भाग भत्काउने गरी सडक निर्माण गरिने योजना प्रमुख न्यौपानेको भनाई छ । अहिले सडक विस्तारका लागि अतिक्रमण हटाउनेदेखि रुख तथा बिजुलीका पोलको काम शुरु गरिएको छ । यो सडक अन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिंगे सडक खण्डमा पनि जंगल क्षेत्र छ ।
सडक विस्तारका लागि सात हजार एक सय ७५ रुख हटाइएको छ । ती रुख काट्दा वातावरणमा हुने नोक्सानी कम गर्न १० गुणा बढी ७१ हजार २५० बिरुवा रोप्न वन विभागसँग सहकार्य गरिएको जनाइएको छ ।