-1742696655.jpg)
लुम्बिनी –
प्रकृती तिमि हाम्रो स्मृतीमा सधैं जिवित रहन्छौं
हामी तिमिलाई माया गर्छौ र सधैं सम्झिरहनेछौं
रूपन्देहीको सिद्धार्थ नगर ८ बैंक कलोनी स्थित घरको भित्तामा प्रकृति लम्सालका साथीहरुले लेखेका स्मृतीहरु फोटो सहित झुन्ड्याइएको थियो । फागुन ११ गते घर पुग्दा यो परिवार शोकमा छ ।
वुवा सुनिल लम्सा र आमा सरिता छोरीको रहस्मय मृत्यूले मुर्छित छन् । फागुन ४ गते भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृतिको रहस्मय मृत्यू भएपछि लम्साल परिवारमा पिडा मात्रै छैन, छोरीको सपनाहरुले झस्काइरहेको छ ।
‘प्रकृतीलाई त गुमाए, तिमिहरु सुरक्षित हुनु’ सोमबार प्रकृतीका साथीहरुसँग आमा सरिता भावविह्वल हुँदै सम्झाउँदै थिईन । सरिताको आँखामा आँसु देखेपछि प्रकृतीका साथीहरु पनि भक्कानिए । छोरीसँगै पढेका विद्यार्थीहरु भैरहवा स्थित बंैकलोनीमा श्रद्धाञ्जली दिन आइपुगेका थिए– प्रतिभा शर्मा, निर्मला राउत क्षेत्री, सुजित पंगेनी, आयुष भण्डारी, विरबहादुर कुँवर ।
यी वाहेक केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु प्रकृतीका आमाबुवालाई सात्वना दिन आइरहेका छन् । राजनीतिज्ञ, समाजसेविहरु घरमा पुगेर श्रदाञ्जली अर्पण गरिरहेका छन् । तर, परिवारमा भने छोरी गुमाउनुको पिडासँगै न्याय नपाउने हो की भन्ने चिन्ता छ । ‘मैलै छोरी गुमाएँ, यहाँ भन्दा गुमाउनु के नै छ र ?’
वुवा सुनिल लम्साल भन्छन–‘जसका कारण छोरीको मृत्यू भयो, दोषीलाई कारवाही होस्, मेरो जस्तै छोरीको अवस्था अरुको नहोस् ।’ प्रकृतीको सोही कलेजको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवको दुव्र्यहारका कारण मृत्यू भएको नेपाली विद्यार्थीहरुको दावी छ । २१ बर्षिय श्रीवास्तवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । प्रकृतीको आत्महत्या भनिएपनि परिवारले मृत्यूलाई मिडियामा आएजस्तै रहस्मय नै रहेको बताएका छन ।
‘दोषीका रुपमा पक्राउ परेकालाई भारत सरकारकै कानुन अनुसार कारवाही गर्नुपर्छ’ वुवा सुनिलले भने । घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउने काम भारतीय सरकारको रहेको तर, स्वभाविक रुपमा प्रकृतीको मृत्यू नभएको उनको भनाई छ ।
कलेज प्रशासनको कमजोरी
प्रकृतीका वुवा सुनिलका अनुसार कलेज प्रशासनको कमजोरीकै कारण छोरीको मृत्यू भएको हो । उनका अनुसार प्रकृतीले आफूमाथि पक्राउ परेका अद्धिकको प्रताडाविरुद्ध कलेजमा उजुरी गरेकी थिईन । २ पटक सम्म उजुरी गर्दा पनि त्यहाँको इन्टरनेश्नल रिलेजन अफिसरले मिलापत्र गरेर छाड्दा ठूलो घटना भएको वुवा सुनिलको भनाई छ ।
‘प्रताडना दिएको भनेर (इन्टरनेश्नल रिलेशनसिप अफिसर) कोमा मिलापत्र दिइएको रहेछ, पहिलो पटक मिलापत्र गराइयो,फेरी दोस्रो पटक पनि प्रताडित गराइयो त्यो बेलामा पनि मिलपात्र गराइएछ’ वुवा सुनिलले भने –‘अन्तर्राष्ट्रिय कलेजले कम्तीमा पनि अभिभावकलाई खबर गर्नुपथ्र्यो, त्यो गरेन जसका कारण हामीले छोरी गुमायौं ।’ उनले कलेज प्रशासनले जानकारी गराएको भए आफूहरुले छोरीलाई नेपाल ल्याउने वा अन्य केही न केही गरेर समस्याको समाधान गर्ने बताए । ‘कलेजकै लापरवाहीले छोरीको ज्यान गएको प्रष्ट छ’ भावुक हुँदै भने–‘मेरो छोरीको जस्तो अवस्था अन्य नेपाली छाराछोरीहरुको नहोस् ।’
उनले आफूहरुको कुनै माग नरहेको बताए । ‘कलेजमा पुग्दा अप्रत्यक्ष रुपमा तपाईहरुको डिमान्ड के हो भन्ने कुरा आएको थियो, तर हाम्रो डिमान्ड केही छैन, मेरो छोरीले जसको कारणले ज्यान गुमाईन, त्यसलाई सजाय होस् हाम्रो यहि हो डिमान्ड’ सुनिलले भने –‘अब नेपाली विद्यार्थीहरुले प्रकृतीको अवस्था नभोग्ने ग्यारेन्टी होस् ।’
छोरीसँग सधै कुरा हुन्थ्यो : आमा सरिता
प्रकृती डेढ महिना अघि घर आएकी थिईन । नेपालमै केही गर्ने सोँच थियो । ‘ड्याडी नेपालमै केही गर्ने हो, इन्टर्नका लागि कुरा गर्दै गर्नु’ घटना हुनुभन्दा ३ दिनअघि सुनिललाई फोनमा छोरी प्रकृतीले भनेकी थिईन । प्राय आमा सरिता (सरु)सँग गफ हुने भएकाले सुनिलसँग कम नै कुराकानी हुन्थ्यो । यतिसम्मकी कहिलेकाँही इन्टरनेट डिस्टर्ब भयो भने मामाघरमा खबर गरेर आमालाई अनलाईन आउन भनेर फोन गराउथिन् ।
घटना भएको दिन फागुन ४ गते दिउँसो ३ बजेतिर प्रकृतीसँग आमा सरिताको गफ भएको थियो । कलेजमा तीन दिनसम्मको ‘किट फेस्ट’ थियो । ‘कलेजमा फेस्टिबल चलिरहेको छ, कलाकारहरु आउँछन मम्मी भन्दै थिईन’ आमा सरिताले छोरीसँगको कुराकानी सम्झिन । भिडियोमा छोरी सुतेर उठेजस्तो देखिन्थ्यो, अबेलासम्म सुत्ने भएकाले शंका नगरेको उनले बताईन । ‘घटना हुनुभन्दा ३ घन्टा अगाडि आमा सरितासँग गफ भएको थियो ।
फोन गर्दै प्रकृतीले ‘फेसबुकमा फोटो राखेको छु लाईक गर्नुनी मम्मी’ भनेकी थिईन । ‘यो बोली नै प्रकृतीको अन्तिम बन्यो’ सरिताले भनिन –‘मैलै त छोरी गुमाए, अन्य आमाहरुले गुमाउन नपरोस् ।’
प्रकृती सानैदेखि पढाईमा पनि अब्बल विद्यार्थी नै हुन् । भैरहवा घर भएपनि व्यापारको शिलशिलामा प्रकृतीको परिवार नै विगत १७ बर्षदेखि काठमाडौं बस्दै आएका छन् । प्रकृतीले कक्षा ४ सम्म भैरहवामै पढेकी हुन् । व्यापरको शिलशिलामा काठमाडौं गएपछि प्रकृतीले एसएलसीसम्म सामाखुशी इंगलिश बोर्डिङ काठमाडौंबाट गरिन । कक्षा १२ सम्म विज्ञान बिषयमा युनिग्लोब कलेजबाट गरेकी हुन् ।
प्लसटु गरेपछि घरसल्लाहमै भारत उडिसा स्थित केआईआईटीमा पठाइएको वुवा सुनिलले बताए । साथीभाई, छरछिमेकीले समेत त्यहाँ आफ्ना बच्चाहरु पढाएको र पढाई पनि राम्रो भएकाले छोरीको उज्जवल भविष्यका लागि पढ्न पठाएको तर, अकल्पनिय घटना भएको उनले सुनाए । प्रकृतीसँगै ठूलीआमाका छोरा दाइ सिद्धान्त सिग्देल, भाइ अनुरोध खनाल पनि सन् २०२२ मा उक्त विश्वविद्यालयमा भर्ना भएका थिए ।
सिद्धान्तले मेकानिकल र अनुरोधले प्रकृतिसँगै कम्प्युटर साइन्स अध्ययरत छन् । अहिले उक्त कलेजका नेपाली विद्यार्थीहरु आफूहरुलाई असुरक्षित महसुस गरेका छन् । विश्वविद्यालयका मुख्य सञ्चालकहरुले भेट गरेको भएपनि ठोस रुपमा केही कुरा नभएको परिवारजनको भनाई छ ।
प्रकृतीको हिन्दु संस्कार अनुसार काजक्रिया गरिएको छ । हजुरवुवा देवनाथ लम्सालले काजक्रिया गरेका छन् । फागुन १६ गते १३ औं पुण्डयतिथि गरिने परिवारजनले बताएका छन् ।